बुढीगण्डकीमा लेदोसहितको बाढी: उद्धारमा ४३७ सुरक्षाकर्मी परिचालन



गोरखा,असोज २५ । गोरखाको चुमनुव्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच आज बिहान गएको पहिरोका कारण बुढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीमा परी पाँच जना बेपत्ता भएको सूचना प्राप्त भएको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिनुभएको छ।

प्रधानमन्त्री शाहका अनुसार बाढीले झोलुङ्गे तथा पक्की पुल, टेलिफोन टावर, विद्युत्का पोल, निर्माणाधीन बुढीगण्डकी जलविद्युत् आयोजनाको शिविर, निर्माण उपकरण र आसपासका घर बगाएको छ। बेपत्ताको खोजी तथा प्रभावित क्षेत्रमा उद्धार कार्य जारी छ।

बाढीको सूचना प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी टोली परिचालन गरी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहान ६ बजे गोरखा, धादिङ, तनहुँ, चितवन तथा नवलपरासीका २२१ जना प्रतिकार्यकर्तालाई परिचालन हुन सन्देश पठाएको थियो।

बाढीको सम्भावित जोखिमबारे सर्वसाधारणलाई पूर्वसूचना दिन जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले गोरखादेखि धादिङ हुँदै चितवनको बेनिघाटसम्म दुई पटक गरी करिब दुई लाख सन्देश पठाएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ।

प्रभावित सल्लेरीस्थित निर्माणाधीन बुढीगण्डकी जलविद्युत् आयोजनाका १२ कर्मचारीसहित ४८ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ। उद्धार तथा खोजी कार्यका लागि नेपाली सेनाका १२७, नेपाल प्रहरीका १३३ र सशस्त्र प्रहरी बलका १७७ गरी ४३७ सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाली सेनाका चारवटा हेलिकोप्टरसमेत प्रभावित क्षेत्रमा खटिएका छन्।

बाढी आउनुको कारण पत्ता लगाउन भूगर्भविद्सहित तीन सदस्यीय टोली ड्रोनसहित परिचालन गरिएको छ। नेपाल प्रहरीको विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा थप ५० जनाको टोलीलाई परिचालनका लागि तयारी अवस्थामा राखिएको छ। गोरखा, लमजुङ र तनहुँका जिल्लास्तरीय द्रुत प्रतिकार्य टोली तथा स्वास्थ्यकर्मीको टोलीलाई पनि तयारी अवस्थामा राखिएको छ।

प्रभावित क्षेत्रमा अत्यावश्यक राहत सामग्री स्थल र हवाई मार्गबाट ढुवानी भइरहेको छ। सडक सञ्चालन तथा बेलिब्रिज निर्माणको सम्भाव्यता अध्ययनका लागि सडक विभाग र स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशकसहितको टोली परिचालन गरिएको छ। आरुघाटमा बेलिब्रिज जडानको तयारीसमेत थालिएको प्रधानमन्त्री शाहले जानकारी दिनुभएको छ।

प्रभावित क्षेत्रमा अलपत्र परेका पर्यटकको उद्धारका लागि सम्बन्धित मन्त्रालय र कम्पनीलाई निर्देशन दिइएको छ। विपद् प्रतिकार्य कमान्ड पोस्टको बैठकमार्फत बाढीको अवस्था निरन्तर अनुगमन, सूचना सम्प्रेषण र सम्बन्धित निकायबीच समन्वय भइरहेको जनाइएको छ।

सरकारले प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन तथा क्षतिग्रस्त भौतिक संरचना पुनः सञ्चालनमा ल्याउन आवश्यक कदम अघि बढाएको प्रधानमन्त्री शाहले बताउनुभएको छ। उहाँले बुढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न, जोखिमयुक्त पुल तथा सडकबाट आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्