हेलिकप्टरबाट बजार पुर्‍याइयो रसुवाका किसानको आठ टनभन्दा बढी आलु र बन्दाकोपी



रसुवा, असोज २६ । भोटेकोसीमा आएको बाढीले सडक तथा पक्की पुलमा क्षति पुर्‍याएपछि बजारसम्म कृषि उपज पुर्‍याउन नसकेका रसुवाको ग्रेगाउँका किसानलाई विश्व खाद्य कार्यक्रमले हेलिकप्टरमार्फत ढुवानीमा सहयोग गरेको छ।

बाढीका कारण स्याफ्रुबेँसी र बेत्रावती क्षेत्रका सडक तथा पुलमा क्षति पुगेर यातायात अवरुद्ध भएपछि बिक्रीका लागि तयार भएका आलु र बन्दाकोपी बारीमै थन्किएका थिए। कृषि उपज बिग्रने र आम्दानी गुम्ने जोखिम बढेपछि स्थानीय प्रशासन र स्थानीय सरकारको आग्रहमा विश्व खाद्य कार्यक्रमले हेलिकप्टरमार्फत ढुवानीको व्यवस्था गरेको हो।

कार्यक्रमको एमआई हेलिकप्टरमार्फत ग्रेगाउँबाट नुवाकोटको बट्टारस्थित सडक पहुँच भएको स्थानसम्म चार हजार ५० किलो आलु र चार हजार ६० किलो बन्दाकोपी ढुवानी गरिएको स्थानीय किसान पेम्बा छिरिङ तामाङले जानकारी दिनुभयो। राहत सामग्री पुर्‍याएर फर्कने क्रममा हेलिकप्टरबाट कृषि उपज ढुवानी गरिएको उहाँले बताउनुभयो।

१८५ घरधुरी रहेको ग्रेगाउँका प्रत्येक घरबाट २५ किलो आलु र २५ किलो बन्दाकोपी ढुवानी गरिएको तामाङले जानकारी दिनुभयो। आलु र बन्दाकोपी बिक्री गरेर चामललगायत दैनिक उपभोग्य सामग्री खरिद गर्नुपर्ने किसान सडक सम्पर्क टुटेपछि समस्यामा परेका थिए। लामो समयको मेहनत र लगानीबाट उत्पादन भएको तरकारी बिक्री गर्न नपाउने अवस्था बनेका बेला ढुवानी सहयोगले ठूलो राहत पुगेको उहाँको भनाइ छ।

ग्रेगाउँका किसानलाई हेलिकप्टरबाट ढुवानीमा सहयोग गरिएपछि उत्तरी रसुवाको गतलाङका किसानले पनि यस्तै सहयोगको अपेक्षा गरेका छन्। गतलाङका ४८५ घरधुरीका किसानले उत्पादन गरेको बन्दाकोपी र आलु सडक अवरुद्ध हुँदा बजारसम्म पुर्‍याउन नसकिएको स्थानीयले बताएका छन्।

गतलाङका अगुवा किसान मार लामाका अनुसार त्यहाँ उत्पादित करिब ३०० मिनी टाटा गाडी बन्दाकोपी र ५० मिनी टाटा गाडी आलु ढुवानी हुन नसकी थन्किएको छ। समयमै बजार पुर्‍याउन नसके कृषि उपज बिग्रने र उत्पादनमा गरेको लगानीसमेत उठाउन नसकिने अवस्था आउने उहाँले बताउनुभयो।

गतलाङका किसानले प्राङ्गारिक विधिबाट उत्पादन गरेको आलु र बन्दाकोपी बिक्री गरेर घरखर्च चलाउने तथा चामललगायत खाद्यान्न खरिद गर्ने गरेका छन्। सडक तथा पुलमा भएको क्षतिका कारण उनीहरूको वर्षभरिको मेहनत र आम्दानी जोखिममा परेको छ।

कृषि उपज खेतबारीमै कुहिने अवस्था आउन नदिन गतलाङसम्म पनि हेलिकप्टरमार्फत ढुवानीमा सहयोग गरिदिन स्थानीयवासीले विश्व खाद्य कार्यक्रमसँग आग्रह गरेका छन्। बाढीबाट क्षति पुगेका सडक तथा पुलको पुनर्निर्माण गरी नियमित यातायात सञ्चालन गर्न समय लाग्न सक्ने भएकाले तत्कालका लागि वैकल्पिक ढुवानी व्यवस्था आवश्यक रहेको किसान चेरसिङ तामाङले बताउनुभयो।

छिट्टै बिग्रने कृषि उपजको ढुवानीलाई प्राथमिकता दिन सके किसानले उत्पादन बिक्री गरी लगानी उठाउन र परिवारको दैनिक आवश्यकता पूरा गर्न सक्ने उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्