नुवाकोट पञ्चकन्याका पहिरोपीडित १६ परिवारलाई पूर्वमन्त्री तामाङद्वारा ग्यास सिलिन्डर वितरण
नुवाकोट,असोज २६ । गत भदौ ४ र ५ गतेको भारी वर्षासँगै गएको पहिरोका कारण घरबाट विस्थापित भएका पञ्चकन्याका १६ परिवारलाई ग्याससहितको सिलिन्डर वितरण गरिएको छ।
आइतबार नेकपाका नेता एवं पूर्वमन्त्री हितबहादुर तामाङको प्रमुख उपस्थितिमा उक्त सामग्री वितरण गरिएको हो। पहिरोका कारण विस्थापित भएका २० घरपरिवारमध्ये कार्यक्रममा उपस्थित १६ परिवारलाई ग्याससहितको सिलिन्डर हस्तान्तरण गरिएको जनाइएको छ।
सामग्री हस्तान्तरण गर्दै पूर्वमन्त्री तामाङले सहयोग ठूलो नभए पनि गाउँका आफन्तको दुःखमा आफू पनि साथमा रहेको सांकेतिक अभिव्यक्ति भएको बताउनुभयो। विपद्का बेला पीडित परिवारको दुःखमा साथ दिनु नै सहयोगको मुख्य उद्देश्य रहेको उहाँको भनाइ थियो।
ग्यास वितरण कार्यमा सहयोग पुर्याएको भन्दै पूर्वमन्त्री तामाङले गाउँपालिका उपाध्यक्ष विमला केसी, वडा नम्बर ३ का अध्यक्ष रामबाबु पराजुली, वाईसीएल नेपालका जिल्ला सचिव सुरेन्द्र तामाङलगायत सहयोगी सबैलाई धन्यवाद दिनुभएको छ।

