नुवाकोटमा बाढीपीडितका लागि वाइसीएलले बनायो अस्थायी आवास, बेलकोटगढीमा १५ घर तयार
नुवाकोट,असोज २६ । लेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशी र त्रिशूली नदीमा मिसिएको विनाशकारी बाढीले घरहरू ध्वस्त बनाएपछि नुवाकोटमा बाढीपीडितका लागि अस्थायी आवास निर्माण भइरहेको छ। घरबारविहीन बनेका परिवारलाई अस्थायी आवास निर्माणले राहत मिलेको छ।
गत भदौ १० गते बुधबार बिहान १० बजे त्रिशूली नदीमा आएको बाढीले नुवाकोटका चार स्थानीय तहमा मानवीय तथा भौतिक क्षति पुर्याएको थियो। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार बाढीबाट विदुर र बेलकोटगढी नगरपालिका तथा तारकेश्वर र म्यागङ गाउँपालिका प्रभावित भएका थिए।
प्रशासकीय अधिकृत रुपेशप्रसाद नेपालका अनुसार बाढीले चारवटै स्थानीय तहमा गरी एक हजार ८१३ घरमा क्षति पुर्याएको छ। तीमध्ये एक हजार ७०६ घर पूर्ण रूपमा र १०७ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।
बाढीबाट घरबारविहीन भएका परिवारले सरकारले शीघ्र पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने माग गरेका छन्। यसैबीच, बेलकोटगढी नगरपालिकामा बाढीपीडितका लागि अस्थायी आवास निर्माण सुरु गरिएको छ। बेलकोटगढी नगरपालिका–७ मा १५ वटा अस्थायी घर निर्माण गरिएको वाइसिएल नेपालले जनाएको छ।
वाइसिएल नेपालका अनुसार नुवाकोटका अन्य बाढी प्रभावित क्षेत्रमा पनि अस्थायी आवास निर्माणको काम अन्तिम चरणमा पुगेको छ। संस्थाले प्रभावित क्षेत्रमा राहत वितरण गर्नुका साथै क्षतिग्रस्त संरचना र भग्नावशेषमा रहेका धनमाल उद्धार गरी सम्बन्धित धनीलाई हस्तान्तरण गर्ने कामसमेत गर्दै आएको वाइसिएल नेपाल नुवाकोटले जनाएको छ।
यसैबीच वाइसिएल नेपालको आयोजनामा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा असोज २७ गते मंगलबार अस्थायी आवास हस्तान्तरण कार्यक्रम हुन लागेको बताइएको छ ।

