नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै



काठमाडौं,असोज २६ । बडादसैँको नवरात्रअन्तर्गत आज दोस्रो दिन नवदुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको पूजा आराधना गरिँदैछ। आश्विन शुक्ल द्वितीयाका दिन दसैँ घर तथा पूजा कोठामा ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा गरिन्छ।

नवरात्रको पहिलो दिन आइतबार वैदिक विधिअनुसार घटस्थापना गरी जौँको जमरा राखिएको थियो। सोही दिन नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी पूजा आराधना गरिएको थियो। आज घटस्थापना गरिएको स्थानमा ब्रह्मचारिणी देवीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिँदैछ।

नवरात्रका नौ दिनसम्म घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती अर्थात् चण्डी, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्रको पाठ गर्ने परम्परा छ। धार्मिक मान्यताअनुसार नवरात्रमा दुर्गा भवानीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ।

यसै विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन्। नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने परम्परा छ।

संसारका समग्र प्राणीलाई सच्चिदानन्दस्वरूप ब्रह्मको बोध गराउन निरन्तर साधनारत रहने मान्यताका आधारमा नवदुर्गामध्येकी दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको धार्मिक ग्रन्थमा उल्लेख छ।

नवरात्रको अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना तथा दर्शन गर्न जाने भक्तजनको भीड लागेको छ। राज्यका तर्फबाट नवदुर्गाको पूजा आराधना गरिने हनुमानढोका दरबारस्थित दसैँ घरमा पनि आज ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा गरिने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्