टिपरको ठक्करबाट बालकको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध



दाङ,असोज २६ । दाङमा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–३ कुइरेपानीमा सोमबार साँझ रा १ ख २५११ नम्बरको टिपरले ठक्कर दिँदा प्युठानको नौबहिनी गाउँपालिका–१ निवासी राजन अधिकारीको मृत्यु भएको हो।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका अधिकारीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिनुभयो।

केसीका अनुसार घोराहीबाट लमहीतर्फ जाँदै गरेको टिपरले बालकलाई ठक्कर दिएको थियो। घटनामा संलग्न टिपर चालक तुलसीपुर उपमहानगरपालिका–१४ निवासी २६ वर्षीय राजकुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो।

घटनापछि दोषीलाई कारबाही गर्नुपर्ने र पीडितले न्याय पाउनुपर्ने माग गर्दै स्थानीयले घोराही–लमही सडकखण्डअन्तर्गत कुइरेपानीमा सडक अवरुद्ध गरेका छन्। सडक अवरुद्ध भएपछि उक्त खण्डको यातायात प्रभावित भएको छ।

प्रतिक्रिया दिनुहोस्