४५ रोपनीमा सयपत्री फूलखेती



तनहुँ,असोज २६ । दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी सयपत्री फूलले पहेँलपुर बनेका छन् । तीन वर्षअघि सुरु गरिएको व्यावसायिक फूलखेती अहिले ४५ रोपनी क्षेत्रफलमा विस्तार भएको छ । सामूहिक रूपमा फूलखेती गर्दै आएका ४५ महिला यसबाट आयआर्जन गर्दै आर्थिक आत्मनिर्भरताको बाटोमा अघि बढेका छन् ।

दसैँ नजिकिएसँगै महिला समूहका सदस्य फूल टिप्न र बजारमा बिक्री गर्न व्यस्त भएका छन् । पहिलो टिपाइमै ५० किलो फूलको माग आएपछि उनीहरूमा उत्साह थपिएको छ । दमौलीमा कोसेली घर सञ्चालन गर्दै आएकी उद्यमी कल्पना गौलीले ५० किलो फूलको माग गरेपछि शनिबारदेखि फूल टिप्न सुरु गरिएको समूहकी अध्यक्ष सुन्तली गुरुङले बताउनुभयो ।

गुरुङका अनुसार सामूहिक रूपमा फूलखेती गर्दा श्रम र अनुभव आदानप्रदान गर्न सहज हुनुका साथै स्थानीय स्रोतसाधनको उपयोगबाट आम्दानी गर्ने अवसर मिलेको छ । आफ्नै गाउँमा उत्पादन भएको फूल बिक्री गरेर आम्दानी गर्न पाउँदा महिलालाई आर्थिक रूपमा सबल बन्न सहयोग पुगेको उहाँले बताउनुभयो ।

यहाँ उत्पादित सयपत्री फूल प्रतिकिलो ४०० रुपैयाँसम्म बिक्री हुने गरेको छ । स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि बाहिरबाट फूल ल्याउनुपर्ने बाध्यता हटेको अध्यक्ष गुरुङले बताउनुभयो । फूलखेतीलाई निरन्तरता दिँदै उत्पादन बढाउन र बजार विस्तार गर्न सके महिलाको आम्दानी थप बढाउन सकिने उहाँको भनाइ छ ।

आँबुखैरेनी गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार आँधीमूल यानचोकमा तीन वर्षदेखि महिलाको सहभागितामा सयपत्री फूलखेती हुँदै आएको छ । यसले महिलालाई उत्पादनमूलक काममा जोड्नुका साथै स्थानीयस्तरमै रोजगारी र आयआर्जनको अवसर सिर्जना गरेको उहाँले बताउनुभयो ।

केसीले यहाँ उत्पादित फूलको बजारमा समस्या नरहेको बताउँदै खेतीलाई थप व्यवस्थित बनाएर विस्तार गर्न सकिने उल्लेख गर्नुभयो । बजारको मागअनुसार उत्पादन बढाउन सके सामूहिक फूलखेतीले स्थानीय महिलाको आर्थिक आत्मनिर्भरता बढाउनुका साथै गाउँमै उद्यमशीलताको विकासमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्