नवरात्रको दोस्रो दिन शक्तिपीठमा भक्तजनको घुइँचो, दसैँको किनमेल पनि बढ्दै
काठमाडौँ ,असोज २६ । दुर्गा पक्ष अर्थात् शारदीय नवरात्रको दोस्रो दिन देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। दसैँ नजिकिएसँगै देवीको दर्शन र पूजाआराधना गर्न आउने भक्तजनको सङ्ख्या बढेको हो।
राजधानीका गुह्येश्वरी, जयबागीश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बङ्गलामुखी तथा टोखा चण्डेश्वरीलगायत मन्दिरमा भक्तजनको लाम लागेको छ।
नवरात्रका अवसरमा शक्तिपीठ तथा देवी मन्दिरलाई ध्वजापताकाले सजाइएको छ। देवीका भजन, मङ्गल धुन र स्तोत्र वाचनले मन्दिर परिसर भक्तिमय बनेका छन्। मैतीदेवी मन्दिर प्रवेश गर्ने सडकमा आकर्षक स्वागतद्वार निर्माण गरिएको छ भने नक्साल भगवती मन्दिर परिसरलाई पनि सजाइएको छ। केही भक्तजनले नौ दिनसम्म फरकफरक देवी मन्दिरमा पुगेर दर्शन गर्ने योजना बनाएका छन्।
उपत्यकाबाहिरका देवी मन्दिरमा पनि भक्तजनको चाप बढेको छ। ताप्लेजुङको पाथीभरा, सप्तरीको छिन्नमस्ता, वीरगञ्जको गहवामाई, काभ्रेको पलाञ्चोक भगवती, पाल्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, मनकामना, इच्छाकामना, विन्ध्यवासिनी, बाग्लुङ कालिका, शैलेश्वरी, उग्रतारा तथा बडिमालिकालगायत शक्तिपीठमा दर्शनार्थी पुगेका छन्।
शक्तिपीठमा दर्शन तथा पूजाआराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ। नवरात्रका नौ दिन महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ। विधिपूर्वक दुर्गाको आराधना गरे शक्ति प्राप्त हुने र मनले चिताएको पूरा हुने विश्वासअनुसार भक्तजन पूजाआराधनामा सहभागी हुने गरेका छन्।
नवरात्रको अन्तिम दिनसम्म विधिपूर्वक पूजा गरिएको दुर्गादेवीको प्रसाद विजयादशमीका दिन मान्यजनको हातबाट ग्रहण गरिन्छ। यस दिन घटस्थापनामा स्थापना गरिएको घडाको जलबाट अभिषेक गरी रातो टीका र जमरा लगाउने परम्परा छ। केही समुदायमा भने सेतो अक्षताको टीका लगाउने चलन छ।
यसैबीच, दसैँ नजिकिएसँगै बजारमा किनमेल गर्नेको चाप पनि बढ्न थालेको छ। मुख्य बजारमा लत्ताकपडा, खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री किन्नेको भीड देखिन थालेको छ। राजधानीमा अध्ययन, रोजगारी तथा व्यवसायका सिलसिलामा बस्दै आएका धेरै मानिस गाउँघर फर्किन थालेका छन् भने कतिपय घर जाने तयारीमा छन्।
काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुले सार्वजनिक यातायात सहज नभएको गुनासो गरेका छन्। दसैँ, तिहारजस्ता चाडपर्वमा यात्रुको चाप बढ्ने भए पनि सार्वजनिक यातायातको व्यवस्थापन प्रभावकारी हुन नसक्दा यात्रुले सास्ती खेप्नुपरेको उनीहरूको गुनासो छ। तीन तहका सरकार रहे पनि सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन पर्याप्त ध्यान नदिइएको आम गुनासो छ।
यस वर्ष बाढीपहिरोका कारण रसुवा, धादिङ, गोरखा, मुस्ताङलगायत जिल्लाका सडक तथा पुलमा क्षति पुगेकाले यात्रामा थप समस्या देखिएको छ। चाडपर्वका बेला घर फर्किने यात्रुको चाप बढिरहेका समयमा क्षतिग्रस्त सडक तथा पुलको अवस्थाले आवागमन थप प्रभावित हुने चिन्ता बढाएको छ।

