पदीय अधिकारको दुरुपयोग नगर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन
काठमाडौं,असोज २६ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनताप्रतिको कर्तव्य पूरा गर्ने जिम्मेवारी पाएका प्रहरी कर्मचारीले पदीय अधिकारको दुरुपयोग गर्न नहुने बताउनुभएको छ ।
राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा सोमबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहमा सम्बोधन गर्दै उहाँले व्यक्तिगत स्वार्थ, अनुचित प्रभाव र पदीय अधिकारको दुरुपयोगले प्रहरी सङ्गठनकै प्रतिष्ठामा आँच पुग्ने बताउनुभयो । उहाँले प्रहरीको नेतृत्व आदेशमा नभई उदाहरणमा देखिनुपर्नेमा जोड दिनुभयो ।
दीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई तथा शुभकामना दिँदै महानिरीक्षक कार्कीले तालिमका क्रममा लिएको शपथलाई व्यवहारमा उतार्न र जनताप्रति संवेदनशील भएर सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । सेवाग्राहीसँगको व्यवहार, अनुसन्धानको गुणस्तर, कर्मचारीको मनोबल, अनुशासन, समुदायसँगको सम्बन्ध र कठिन परिस्थितिमा लिइने निर्णयबाट नेतृत्वको वास्तविक मूल्याङ्कन हुने उहाँको भनाइ थियो ।
प्रहरीको पोसाकले परिचय दिए पनि आचरणले सङ्गठनको पहिचान स्थापित गर्ने उल्लेख गर्दै उहाँले पदीय मर्यादा, व्यावसायिक निष्ठा, इमानदारिता र अनुशासनमा कुनै सम्झौता नगर्न आग्रह गर्नुभयो । प्रहरीको पदले अधिकार प्रदान गर्ने भए पनि त्यसलाई वैधता दिने आधार चरित्र भएको उहाँले बताउनुभयो ।
तालिम सम्पन्न भएपछि प्रहरी अधिकृतका रूपमा वास्तविक परीक्षा सुरु हुने उल्लेख गर्दै महानिरीक्षक कार्कीले प्रहरी निरीक्षकको पद केवल दर्जा मात्र नभई निर्णय गर्ने क्षमता र उत्तरदायित्व बहन गर्ने योग्यताको परीक्षा पनि भएको बताउनुभयो । सेवाका क्रममा भय, प्रलोभन, माया र द्वेषबाट मुक्त भएर निष्पक्ष रूपमा काम गर्नुपर्ने उहाँको भनाइ थियो ।
समारोहका प्रमुख अतिथि प्रधानमन्त्री वालेन्द्र शाहले सर्वोत्कृष्ट प्रशिक्षार्थी चोपबहादुर डेँगालाई कुलानन्द विद्या पुरस्कार प्रदान गर्नुभयो । प्रशिक्षार्थीहरूले प्रधानमन्त्रीको सम्मानमा कार्यक्षेत्र प्रवेश कवाज प्रदर्शन गरेका थिए भने नेपाल सङ्गीत विद्यालयले साङ्गीतिक धुन प्रस्तुत गरेको थियो ।
नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले विभिन्न विधामा उत्कृष्ट प्रशिक्षार्थीहरूलाई पुरस्कार वितरण गर्नुभयो । अध्ययन विधामा चोपबहादुर डेँगा, शारीरिक क्षमता तथा आत्मबल अभिवृद्धिमा गोपाल राई, प्रहरी युक्ति तथा कारबाहीमा रामकुमार जिटी, चाँदमारीमा विकासकुमार धामी, सर्वतृतीयमा विशाल पौडेल र सर्वद्वितीयमा बालकृष्ण पोख्रेल पुरस्कृत हुनुभयो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले दीक्षित प्रहरी निरीक्षकहरूलाई शपथ खुवाउनुभएको थियो । प्रशिक्षार्थीहरूले धार्मिक ग्रन्थ स्पर्श गरी शपथ ग्रहण गरेका थिए । प्रतिष्ठानका प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त समारोहमा ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका छन् ।

