दसैँका लागि उपत्यकामा पशुको स्वास्थ्य परीक्षण सुरु, खसीबोकाको मूल्य बढ्यो



काठमाडौँ, असोज २७ । दसैँका लागि काठमाडौँ उपत्यकामा भित्रिएका खसीबोका, च्याङ्ग्रा र राँगाभैँसीको स्वास्थ्य परीक्षण सुरु गरिएको छ। पशुसेवा विभागले उपत्यकाका विभिन्न बजार तथा प्रवेशस्थलमा टोली परिचालन गरी पशुको स्वास्थ्य परीक्षण थालेको हो।

दसैँमा मासुका लागि ठूलो सङ्ख्यामा पशु भित्रिने भएकाले अस्वस्थ पशुको बिक्री रोक्न स्वास्थ्य परीक्षण गरिएको विभागले जनाएको छ। विभाग, जिल्ला पशुसेवा कार्यालय र स्थानीय तहका प्रतिनिधिसहितको टोलीले आइतबारदेखि परीक्षण सुरु गरेको हो।

पशु चिकित्सक हरिसिंह भाटका अनुसार परीक्षणपछि खानयोग्य खसीबोकाको कानमा हरियो रङ र अस्वस्थ पशुको कानमा रातो रङ लगाउने व्यवस्था गरिएको छ। उपभोक्तालाई खसीबोका खरिद गर्दा हरियो रङ लगाइएको छ कि छैन भन्ने यकिन गर्न उहाँले आग्रह गर्नुभयो। घटस्थापनादेखि नवमीसम्म १० वटा टोली परिचालन गरी स्वास्थ्य परीक्षण गरिने विभागले जनाएको छ।

कलङ्की, धापाखेल, चापागाउँ, टुकुचा, थापाथली, टोखा, कपन, सुकेधारा, लोकन्थली, सल्लाघारी, चोभार, चाल्नाखेल, चन्द्रागिरि, बालाजु बाइपास र बल्खु–कालीमाटीलगायतका स्थानमा परीक्षण भइरहेको छ। विभागका अनुसार आइतबार मात्रै उपत्यकामा दुई हजार पाँच खसीबोका र च्याङ्ग्रा भित्रिएका छन्। गत वर्ष दसैँका बेला ३५ हजार ८४८ पशुको स्वास्थ्य परीक्षण गरिएको थियो।

यस वर्ष बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा खसीबोका तथा च्याङ्ग्राको ढुवानी प्रभावित भएको छ। चौपाया खरिदबिक्री सङ्घका अध्यक्ष जीवनराज खड्काका अनुसार ढुवानीमा समस्या र आपूर्ति कम हुने अनुमानका कारण खसीबोका तथा च्याङ्ग्राको मूल्य बढेको छ।

सङ्घका अनुसार गत वर्ष प्रतिकिलो ६०० देखि ६५० रुपैयाँ रहेको जिउँदो खसीको मूल्य यस वर्ष बढेर ८०० देखि ८५० रुपैयाँ पुगेको छ। त्यस्तै, गत वर्ष प्रतिकिलो एक हजार १०० देखि एक हजार २०० रुपैयाँ रहेको च्याङ्ग्राको मूल्य यस वर्ष एक हजार ३५० रुपैयाँ पुगेको छ। खड्काका अनुसार यस वर्ष खसीबोका र च्याङ्ग्राको मूल्य प्रतिकिलो दुई सय रुपैयाँसम्म बढेको छ।

विगतका वर्षमा दसैँमा उपत्यकामा ५० हजारदेखि ५५ हजारसम्म खसीबोका खपत हुने गरेकामा यस वर्ष करिब ४० हजार मात्रै भित्रिने अनुमान गरिएको छ। त्यस्तै, तीन हजारदेखि चार हजारसम्म च्याङ्ग्रा खपत हुने अनुमान छ। सडक अवरुद्ध हुनु, ढुवानीमा कठिनाइ र मूल्य वृद्धि हुँदा उपभोक्ताको मागअनुसार पशु भित्र्याउन कठिन हुने तथा खपतसमेत घट्न सक्ने व्यवसायीको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्