नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै



काठमाडौँ,असोज २७ । बडादसैँअन्तर्गत नवरात्रको तेस्रो दिन आज देशभरका दसैँघर, पूजा कोठा तथा शक्तिपीठमा नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

पौराणिक मान्यताअनुसार शिरमा अर्धचन्द्र र घण्ट धारण गर्ने भएकाले देवीको नाम चन्द्रघण्टा रहन गएको हो। मार्कण्डेय पुराणमा पनि चन्द्रघण्टा देवीको स्वरूप र नामबारे उल्लेख गरिएको छ। नवरात्रका अवसरमा देवीको पूजा आराधना गर्दा शक्ति प्राप्त हुने धार्मिक विश्वास रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सेवा निवृत्त प्राध्यापक तोयराज नेपालले बताउनुभयो।

चन्द्रघण्टा देवीको स्वरूप पहेँलो वर्णको रहेको र उहाँले अत्याचारी दानवी शक्तिको नाश गर्ने धार्मिक मान्यता छ। यस दिन देवीको ध्यान गर्दा मणिपुर चक्रमा ध्यान केन्द्रित गरिने र विभिन्न शक्ति प्राप्त हुने विश्वास गरिन्छ। देवीको कृपाले पाप नाश हुने धार्मिक ग्रन्थमा उल्लेख रहेको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले बताउनुभयो।

चन्द्रघण्टा देवीको स्वरूप शान्त, सौम्य र करुणामयी मानिन्छ। विशेषगरी गीतसङ्गीत क्षेत्रमा आबद्ध व्यक्तिले यस दिन देवीको विशेष आराधना गर्ने धार्मिक परम्परा रहेको छ।

नवरात्रको पहिलो दिन घटस्थापना गरी दसैँघर तथा पूजा कोठामा जौको जमरा राखिएको थियो। पहिलो दिन शैलपुत्री र दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिएको थियो। आज तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिँदै छ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती, चण्डी तथा श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थको पाठ गर्ने परम्परा छ। देवीको आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म विशेष पूजा आराधना गर्छन्।

नवरात्रका नौ दिन क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री देवीको पूजा गरिन्छ। यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ।

नवरात्रका अवसरमा काठमाडौँ उपत्यकासहित देशभरका प्रमुख शक्तिपीठ तथा देवी मन्दिरमा पूजाआजा र दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ। कतिपय भक्तजनले नौ दिनमा नौवटा शक्तिपीठ पुगेर पूजा तथा दर्शन गर्ने धार्मिक परम्परासमेत पालना गर्दै आएका छन्।

नवरात्रमा पूजा आराधना गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादका रूपमा टीका र जमरा लगाउने परम्परा छ। यसरी नेपालीले बडादसैँलाई धार्मिक तथा सांस्कृतिक महत्त्वका साथ १५ दिनसम्म मनाउने गर्छन्।

प्रतिक्रिया दिनुहोस्