लिग–२ : आज ओमानसँग भिड्दै नेपाल



काठमाडौँ,असोज २७ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृङ्खलामा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दै छ।

अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ।

नेपालले यसअघि आइतबार भएको शृङ्खलाको पहिलो खेलमा क्यानडालाई पराजित गर्दै विजयी सुरुआत गरेको थियो। उक्त खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले शतकीय पारी खेल्दै जितमा महत्त्वपूर्ण योगदान दिएका थिए। उनले १२५ बलमा आठ चौका र एक छक्काको मद्दतमा शतक बनाएका थिए।

क्यानडाविरुद्धको जितसँगै नेपाल लिग–२ को अङ्क तालिकामा छैटौँ स्थानमा उक्लिएको छ। नेपालले ३३ खेलबाट २६ अङ्क जोडेको छ भने ३४ खेलबाट २५ अङ्क रहेको क्यानडा सातौँ स्थानमा झरेको छ।

घरेलु टोली ओमान भने २९ खेलबाट ३३ अङ्क जोड्दै तालिकाको चौथो स्थानमा छ। आजको खेलमा जित निकाल्दै नेपाल आफ्नो अङ्क सुधार गर्ने लक्ष्यमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्