बाढीपीडितका लागि बनेका अस्थायी आवास हस्तान्तरण गर्न प्रचण्ड नुवाकोटमा
नुवाकोट,असोज २७ । रसुवा–भोटेकोशी बाढीबाट घरवास गुमाएका नुवाकोटका बाढीपीडितका लागि वाईसीएल नेपालले निर्माण गरेका अस्थायी आवास हस्तान्तरण गर्न नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नुवाकोट आइपुगेका छन् ।
बेलकोटगढी नगरपालिका–७ रातमाटेका विस्थापित परिवारका लागि निर्माण गरिएका अस्थायी आवासमध्ये पूर्ण रूपमा तयार भएका २० वटा घर आज प्रचण्डले हस्तान्तरण गर्ने कार्यक्रम रहेको वाईसीएलका केन्द्रीय अध्यक्ष पुष्प ओलीले जानकारी दिए ।
ओलीका अनुसार करिब १५० वटा अस्थायी आवास निर्माणको अन्तिम चरणमा छन् । विस्थापित परिवारका लागि निर्माण गरिएका आवासमा खानेपानी, शौचालय, बिछ्यौना, खाद्यान्न तथा भान्साका सामग्रीसमेत व्यवस्था गरिएको छ ।
बाढीपीडितको पुनर्स्थापनाका लागि वाईसीएलका नेता तथा कार्यकर्ता दैनिक १२ घण्टासम्म खटिएर आवास निर्माणमा जुटेका थिए । केन्द्रीय उपाध्यक्ष हरि ढकालका अनुसार केन्द्र, प्रदेश र जिल्ला तहबाट हालसम्म नुवाकोटमा करिब ६०० जना वाईसीएलका नेता तथा कार्यकर्ता परिचालन भएका छन् ।
वाईसीएल नुवाकोटका अध्यक्ष जलन गजुरेलका अनुसार बाढी प्रभावित क्षेत्रमा पुरिएका सुनचाँदी, नगदलगायत धनमाल उत्खनन गरी सम्बन्धित घरधनीलाई बुझाउने, बाढीले बगाएका शव खोजी तथा व्यवस्थापन गर्ने, रक्तदानमार्फत रगतको अभाव पूर्ति गर्ने र होल्डिङ सेन्टरमा खानपिनको व्यवस्था गर्नेलगायत काममा पनि टोली खटिएको थियो ।
गजुरेलले अब विस्थापित परिवारको पुनर्स्थापना मुख्य प्राथमिकता रहेको बताए । उनका अनुसार बेलकोटगढी नगरपालिकाका सबै विस्थापित परिवारलाई आवश्यक सामग्रीसहित सुरक्षित बासको व्यवस्था गर्ने लक्ष्यसहित काम भइरहेको छ ।
नुवाकोटको कार्यक्रम सम्पन्न गरेपछि प्रचण्ड रसुवाका बाढीपीडितसँग भेटघाट गर्न जाने कार्यक्रम छ । रसुवामा पनि वाईसीएलको टोली उद्धार, राहत तथा पुनर्स्थापनाका काममा खटिरहेको जनाइएको छ ।
गत भदौ १० गते चीनको तिब्बत क्षेत्रबाट भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटका विभिन्न स्थानमा मानवीय तथा भौतिक क्षति पुर्याएको थियो । त्यसको भोलिपल्टदेखि नै वाईसीएलको टोली उद्धार, राहत तथा विस्थापितका लागि अस्थायी आवास निर्माणमा परिचालित भएको थियो ।

