खगेन्द्र सुनारमाथि उठेका प्रश्नबारे रास्वपाद्वारा छानबिन, औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन



काठमाडौं,असोज २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री तथा उनीमाथि उठेका गम्भीर प्रश्नबारे आन्तरिक छानबिन गर्ने भएको छ।

पार्टीले केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएको जनाएको छ। छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन पनि निर्देशन दिइएको छ।

रास्वपाले सञ्चारमाध्यममा आरोपका रूपमा सार्वजनिक भएका महिलाको मर्यादामा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी विषयलाई गम्भीर र संवेदनशील भनेको छ। यस्ता आरोपलाई सामान्य रूपमा लिन नसकिने उल्लेख गर्दै पार्टीले महिलामाथिको दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा शून्य सहनशीलताको नीति रहेको जनाएको छ।

पार्टीले सार्वजनिक भएका विषयमा राज्यका सम्बन्धित निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वाससमेत व्यक्त गरेको छ। राज्यका निकायले गर्ने अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा कानुन र पार्टी विधानअनुसार थप कदम चाल्ने जनाएको छ।

‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने मान्यतामा पार्टी दृढ रहेको उल्लेख गर्दै रास्वपाले कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत कार्य गर्ने कसैलाई पनि राजनीतिक संरक्षण नदिने स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्