दाङका विभिन्न सामुदायिक वनबाट चार नाल भरुवा बन्दुक बरामद



दाङ, असोज २७ । दाङका विभिन्न सामुदायिक वनमा लुकाइछिपाइ राखिएका चार नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङ मातहतका प्रहरी टोलीले मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्म विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा ती बन्दुक बरामद गरेको हो।

प्रहरीका अनुसार लमही नगरपालिका–१, सुण्डबरीस्थित जनता सामुदायिक वनमा लुकाइराखिएका दुई नाल, लमही नगरपालिका–९, शिवखोलास्थित गायत्री सामुदायिक वनमा लुकाइराखिएको एक नाल र बंगलाचुली गाउँपालिका–२ स्थित स्याले छरछरी सामुदायिक वनमा प्लास्टिकले बेरेर राखिएको एक नाल भरुवा बन्दुक बरामद गरिएको हो।

बरामद गरिएका बन्दुक कसले र कुन प्रयोजनका लागि लुकाइराखेको थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्