नुवाकोट किस्पाङमा अनुदानको मल ढुवानी गाउँपालिकाले गर्ने



नुवाकोट,असोज २७ । भोटेकोशी–त्रिशूली बाढीका कारण सदरमुकामदेखि किस्पाङ गाउँपालिका जोड्ने सडक अवरुद्ध भएपछि किसानलाई अनुदानको मल उपलब्ध गराउन गाउँपालिकाले ढुवानीको जिम्मा लिने भएको छ।

सडक अवरुद्ध हुँदा कृषि सामग्री कम्पनी लिमिटेडबाट किस्पाङका लागि तोकिएको अनुदानको मल ढुवानीमा समस्या भएको थियो। उक्त समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले वैकल्पिक मार्ग प्रयोग गरी मल ढुवानी गर्ने व्यवस्था मिलाएको हो।

गाउँपालिकाका कार्यवाहक अध्यक्ष अर्जुनप्रसाद न्यौपानेका अनुसार हाल ३८ मेट्रिक टन अनुदानको मल ढुवानी गर्नुपर्नेछ। गाउँपालिकाले नै ढुवानीको व्यवस्था गर्दा किसानले प्रतिकिलो मलमा लाग्ने ढुवानी खर्चका आधारमा प्रतिबोरा करिब २५० देखि ३०० रुपैयाँसम्म सस्तोमा मल पाउनेछन्।

स्थानीय विपद् व्यवस्थापन समितिको निर्णयअनुसार कृषि सामग्री कम्पनी लिमिटेडको त्रिशूली शाखाबाट वैकल्पिक मार्ग प्रयोग गरी सहकारीसम्म मल पुर्‍याउने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ।

अनुदानको मल वितरण तथा व्यवस्थापन कार्यविधि, २०८२ को दफा ११ को उपदफा (३) बमोजिम गाउँपालिकाले प्रतिबोरा ९७५ रुपैयाँ मूल्य निर्धारण गरेको छ। सोही मूल्यमा मल बिक्री तथा वितरण गर्न सम्बन्धित पक्षलाई गाउँपालिकाले सूचित गरेको छ।

सडक अवरुद्ध हुँदा किसानलाई समयमै मल प्राप्त गर्न कठिनाइ भइरहेको अवस्थामा गाउँपालिकाको यो व्यवस्थाले मल ढुवानी सहज बनाउनुका साथै किसानको लागत घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्