खुडा प्रहार गरी वृद्धको हत्या गर्ने ३२ वर्षीय युवक पक्राउ



मुगु, असोज २७ । मुगुको छायाँनाथ रारा नगरपालिका–५, कार्कीवाडामा धारिलो हतियार खुडा प्रहार गरी वृद्धको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार मंगलबार बिहान करिब ८ः२० बजे सोही स्थानका ३२ वर्षीय अजबिर कामीले ७५ वर्षीय धनबिर कामीमाथि खुडा प्रहार गरेका थिए। गम्भीर घाइते भएका धनबिरलाई उपचारका लागि जिल्ला अस्पताल मुगु लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनापछि फरार भएका अजबिरको खोजीका लागि जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायब उपरीक्षक रविराज थपलियाको नेतृत्वमा टोली परिचालन गरिएको थियो। प्रहरी टोलीले बिहान करिब ९ः३० बजे छायाँनाथ रारा नगरपालिका–३ स्थित रारा ताल जाने जंगलमा भागिरहेको अवस्थामा उनलाई खुडासहित पक्राउ गरेको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्