बाढीपीडित निजी विद्यालय र शिक्षक–कर्मचारीलाई प्याब्सन नुवाकोटको ७३ लाख ५५ हजार सहयोग



नुवाकोट, असोज २७ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटले बाढीबाट प्रभावित निजी विद्यालय, विद्यालय सञ्चालक, शिक्षक तथा कर्मचारीलाई ७३ लाख ५५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

प्याब्सन नुवाकोटको पूर्ण बैठक सम्पन्न गर्दै बाढीबाट प्रभावित शैक्षिक क्षेत्रको पुनःस्थापना र पीडित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले उक्त सहयोग उपलब्ध गराइएको हो।

सहयोगअन्तर्गत पूर्ण रूपमा क्षति भएका उत्तरगया पब्लिक बोर्डिङ स्कुल र त्रिशूली सामुदायिक बोर्डिङ स्कुललाई प्रतिविद्यालय १० लाख रुपैयाँ प्रदान गरिएको छ। त्यस्तै, प्रभावित विद्यालयका सञ्चालकलाई प्रतिव्यक्ति ७५ हजार रुपैयाँ तथा शिक्षक–कर्मचारीलाई प्रतिव्यक्ति ६० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराइएको प्याब्सन नुवाकोटले जनाएको छ।

बाढीका कारण क्षति व्यहोरेका विद्यालयको पुनःस्थापना तथा शिक्षक–कर्मचारीको मनोबल बढाउन सहयोगले महत्त्वपूर्ण योगदान पुर्‍याउने प्याब्सनको विश्वास छ। विपद्का कारण प्रभावित शैक्षिक क्षेत्रलाई पुनः सञ्चालनमा ल्याउन र शैक्षिक निरन्तरता कायम राख्न उक्त सहयोगले टेवा पुग्ने अपेक्षा गरिएको छ।

सहयोग अभियान सफल बनाउन आर्थिक सहयोग गर्ने प्याब्सन केन्द्रीय समिति, प्रदेश समिति, प्याब्सन परिवार तथा अन्य सहयोगीप्रति प्याब्सन नुवाकोटले आभार व्यक्त गरेको छ।

विपद्को समयमा एकजुट भएर शैक्षिक क्षेत्रको पुनर्निर्माणमा सहयोग गर्नु मानवीय सेवा र सहकार्यको उदाहरण भएको प्याब्सन नुवाकोटले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्