तारकेश्वरमा हवाई फायर गरी लागुऔषध कारोबारी पक्राउ
काठमाडौँ,असोज २७ । लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौँको तारकेश्वर नगरपालिका–८ बाट ३०० ग्राम खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ गर्ने क्रममा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख सुवासचन्द्र बोहोराका अनुसार भारतको रक्सौल नाका हुँदै वीरगञ्जमार्फत काठमाडौँ उपत्यकामा लागुऔषध आपूर्ति गर्ने गिरोहको निगरानी गर्ने क्रममा मंगलबार प्रहरी टोलीले तारकेश्वर–८ मा शङ्कास्पद अवस्थामा रहेका व्यक्तिलाई रोक्न खोजेको थियो ।
प्रहरीलाई छल्दै भाग्न खोज्नुका साथै प्रहरीमाथि आक्रमण गरेपछि दुई राउन्ड हवाई फायर गरी उनलाई नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२१ का ४९ वर्षीय बासुदेव मियाँ रहेका छन् । उनको साथबाट ३०० ग्राम खैरो हेरोइन र दुई थान मोबाइल फोन बरामद गरिएको छ ।
ब्युरोका अनुसार मियाँले पछिल्लो तीन महिनामा प्रतिपटक २०० ग्रामका दरले छ पटकसम्म काठमाडौँ उपत्यकामा खैरो हेरोइन आपूर्ति गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीमार्फत उपत्यकामा लागुऔषध आपूर्ति हुने गरेको विषयमा थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।
लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार ३०० ग्रामभन्दा बढी खैरो हेरोइनको कारोबारमा संलग्नलाई १५ वर्षदेखि जन्मकैदसम्मको कैद र पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको ब्युरोले जनाएको छ ।

