नेपालगञ्जको बागेश्वरी मन्दिरमा धुमधामका साथ फूलपाती भित्र्याइयो



नेपालगञ्ज,असोज ३१ । बडादसैँको सप्तमीका अवसरमा नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा शनिबार धुमधामका साथ फूलपाती भित्र्याइएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले संयुक्त रूपमा विशेष पूजाआजासहित फूलपाती भित्र्याएको हो । फूलपाती भित्र्याउने क्रममा नेपाली सेनाले हर्षबढाइँसमेत गरेको थियो ।

फूलपाती भित्र्याउने कार्यक्रम हेर्न बागेश्वरी मन्दिर परिसरमा ठूलो सङ्ख्यामा सर्वसाधारण तथा भक्तजनको उपस्थिति रहेको थियो । फूलपाती भित्र्याइएसँगै मन्दिर परिसरमा दसैँको रौनक थपिएको थियो । यस अवसरमा सर्वसाधारणले पनि आ–आफ्नो घरमा फूलपाती भित्र्याएका छन् ।

घटस्थापनादेखि वैदिक विधिअनुसार दुर्गाको आह्वान गरी पूजा गरिने दसैँघर वा पूजाकोठामा सप्तमीका दिन शुभ साइतको प्रतीकका रूपमा फूलपाती भित्र्याउने परम्परा छ ।

फूलपातीका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्षलगायत सामग्री भित्र्याउने चलन रहेको छ । हरेक वर्ष बडादसैँको सप्तमीका दिन फूलपाती भित्र्याएर दसैँको उल्लासलाई थप विशेष बनाउने परम्परा रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस्