अर्जुन कुमालको ८७ रन पनि खेर गयो, क्यानडासँग नेपाल २४ रनले पराजित
काठमाडौं,कात्तिक १ । आइसिसी विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाल २४ रनले पराजित भएको छ। शनिबार भएको खेलमा क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभरमा २३२ रनमै अलआउट भयो।
नेपालका लागि ओपनर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गर्दै ११२ बलमा चार चौकासहित ८७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। त्यस्तै, दीपेन्द्रसिंह ऐरीले २७, इशान पाण्डे र गुलशन झाले समान २१, आसिफ शेखले २०, कप्तान रोहितकुमार पौडेलले १८ तथा करण केसीले अविजित १७ रन जोडे।
नेपालको पारी रोक्ने क्रममा क्यानडाका सुखजिन्दर सिंहले तीन विकेट लिए भने कलिम सना र शील पटेलले समान दुई विकेट हात पारे।
त्यसअघि अलअमरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको थियो। क्यानडाका ओपनर युवराज सम्राले शतकीय पारी खेल्दै ११७ बलमा ११ चौका र चार छक्काको मद्दतमा १०५ रन बनाए। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो पहिलो शतक हो।
क्यानडाका लागि आरोन जोनसनले ३६, हर्ष ठाकरले ३४, कप्तान हम्जा तारिकले ३० र समित गोयलले १७ रन बनाए। नेपालका बलर ललितनारायण राजवंशीले चार विकेट लिए भने कप्तान सन्दीप लामिछानेले तीन, दीपेन्द्रसिंह ऐरीले दुई र रोहितकुमार पौडेलले एक विकेट लिए।
यस हारसँगै नेपाल विश्वकप लिग–२ को अंकतालिकामा सातौँ स्थानमा झरेको छ। शीर्ष छभित्र रहेर स्थान सुरक्षित गर्ने लक्ष्यमा रहेको नेपालका लागि अब ओमानविरुद्धको अन्तिम खेल निर्णायक बनेको छ। नेपाल र ओमानबीचको खेल सोमबार हुने तालिका छ। शीर्ष छमा स्थान बनाउन नेपालले उक्त खेल जित्नुपर्ने समीकरण बनेको छ।

