बाढीको पीडाबीच नुवाकोटमा फूलपाती भित्राइयो, हराउँदै गएका सांस्कृतिक परम्परा जोगाउन माग



नुवाकोट,कात्तिक १— नुवाकोटको धार्मिक तथा ऐतिहासिक तलेजु भवानी मन्दिरमा शनिबार बाजागाजा, सैनिक सलामी र विशेष पूजाआजासहित बडादसैँको फूलपाती भित्राइएको छ। यस वर्ष विनाशकारी बाढीले जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएपछि दसैँको उल्लास प्रभावित बनेको अवस्थामा परम्परालाई निरन्तरता दिँदै फूलपाती भित्राइएको हो।

विदुर नगरपालिका–२ स्थित तलेजु भवानी मन्दिरमा सरकारी प्रतिनिधि, जनप्रतिनिधि, नेपाली सेना र सर्वसाधारणको उपस्थितिमा फूलपाती भित्राइएको थियो। बस्नेत, मगर र अर्याल समुदायले वन तथा बगैँचाबाट सङ्कलन गरेको फूलपाती बाजागाजासहित विशेष जात्राका रूपमा मन्दिरमा पुर्‍याइएको हो।

बाढीबाट प्रभावित परिवारहरू पुनःस्थापना र परिवारको व्यवस्थापनको चिन्तामा रहेका कारण यस वर्ष दसैँको रौनक विगतको तुलनामा कम देखिएको छ। विपद्को पीडाबीच पनि नुवाकोटवासीले आफ्नो धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिएका छन्।

फूलपाती भित्राउने परम्परा मल्लकालदेखि चल्दै आएको बताइन्छ। विसं १८०१ असोज १५ गते पृथ्वीनारायण शाहले तेस्रो प्रयासमा नुवाकोट विजय गरेपछि यहाँको फूलपाती परम्पराको ऐतिहासिक महत्त्व अझ बढेको सरकारी प्रतिनिधि द्वारे महेन्द्रकुमार शाहीले बताए। उनका अनुसार नुवाकोटको फूलपाती भित्राउने परम्परा गोरखा र काठमाडौँको हनुमानढोकामा मनाइने फूलपाती पर्वजत्तिकै महत्त्वपूर्ण छ।

फूलपाती भित्राउने कार्यक्रमका लागि सरकारी प्रतिनिधि तथा सर्वसाधारण साततले दरबार राष्ट्रिय सङ्ग्रहालय परिसरमा भेला भएका थिए। त्यहाँबाट बाजागाजासहित निस्किएको टोली धोबीधाराको चौतारामा पुगेर सङ्कलित फूलपाती लिएर तलेजु मन्दिर पुगेको थियो। फूलपाती ल्याउने र भित्राउने स्थानमा सरसफाइ तथा लिपपोत गरी विशेष पूजाआजा गरिएको थियो। मन्दिरमा सरकारीस्तरबाट एउटा बोका बलि दिइएको थियो। नेपाली सेनाको सैनिक टुकडीले मङ्गल सलामी र निशान झन्डा प्रदान गरेको थियो।

नुवाकोटको फूलपाती भित्राउने परम्परासँग जोडिएका केही मौलिक सांस्कृतिक गतिविधि भने पछिल्लो समय हराउँदै गएका छन्। विशेषगरी महिलाहरूले गाउने मङ्गली गीत, कर्नाल, काल, भेरी र बुढीनङ्ग्रा बजाउने चलन तथा अन्य परम्परागत विधि बन्द हुँदै गएपछि स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्।

सदियौँदेखि चल्दै आएको मङ्गली गाउने कल्छिनीको परम्परा २०६४ सालदेखि बन्द भएको द्वारे शाहीले बताए। उक्त परम्परा पुनः सञ्चालनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग पटकपटक आग्रह गरिएको भए पनि कार्यान्वयन हुन नसकेको उनको भनाइ छ। सरकारी पक्षबाट परम्परा पुनः सञ्चालनका लागि पहल भइरहेको आश्वासन आएको उनले बताए।

विश्व हिन्दु महासङ्घ नुवाकोटका अध्यक्ष यज्ञराज केसीले तलेजुमा भित्राइने फूलपातीको सांस्कृतिक मौलिकता हराउँदै गएकोप्रति चिन्ता व्यक्त गरे। स्थानीयवासीले परम्परागत विधि र संस्कृतिको संरक्षणका लागि सम्बन्धित निकायले ठोस पहल गर्नुपर्ने माग गरेका छन्।

भैरवी मन्दिरका ज्येष्ठ पुजारी हरिमानसिंह डंगोलले पनि नुवाकोटको फूलपाती परम्पराको ऐतिहासिक महत्त्व गोरखा र काठमाडौँको हनुमानढोकाको परम्परासरह रहेको बताए। गणतन्त्र स्थापनापछि केही पुराना परम्परा हटाइँदा नुवाकोटको सांस्कृतिक पहिचान कमजोर हुँदै गएको उनको भनाइ छ।

नुवाकोटको तलेजु मन्दिरमा भित्राइएको फूलपाती विजयादशमीको प्रसाद ग्रहणका लागि काठमाडौँको हनुमानढोका लैजाने परम्परासमेत रहेको छ। हनुमानढोकामा पुर्‍याइएको फूलपातीलाई टीकासहित राष्ट्राध्यक्षलगायतले प्रसादका रूपमा ग्रहण गर्ने चलन छ। तर, नुवाकोटमा फूलपाती भित्राउने क्रममा विगतमा गरिने कतिपय धार्मिक तथा सांस्कृतिक गतिविधि छुट्दै गएकोमा स्थानीयवासीले असन्तुष्टि जनाउँदै आएका छन्।

फूलपाती भित्राउने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, विदुर नगरपालिका–२ का वडाध्यक्ष दीपक कायस्थलगायत जनप्रतिनिधि तथा सर्वसाधारणको सहभागिता थियो। सहभागीहरूले नुवाकोटको ऐतिहासिक परम्परा र मौलिक संस्कृतिको संरक्षणमा सबै पक्षले ध्यान दिनुपर्ने बताएका छन्।

यसैबीच, नुवाकोटको अर्को महत्त्वपूर्ण शक्तिपीठ बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भगवती मन्दिरमा पनि शनिबार फूलपाती भित्राइएको छ। धन्सारबाट बोकेर ल्याइएको फूलपाती बाजागाजासहित मन्दिरको जमरा घरमा भित्र्याइएको हो।

स्थानीयवासी तथा पुरोहित भोलाराज पौडेलका अनुसार निरञ्जना भगवती मन्दिरमा काठमाडौँको हनुमानढोकामा अपनाइने वैदिक विधिअनुसार हरेक वर्ष बडादसैँमा विशेष पूजाआजा हुँदै आएको छ। घटस्थापनाका दिन दलित, आदिवासी जनजाति तथा ब्राह्मण समुदायले संयुक्त रूपमा जमरा राख्ने परम्पराले पनि यस मन्दिरको सांस्कृतिक महत्त्व बढाएको छ।

पहिले नुवाकोटको भैरवी मन्दिरबाट फूलपाती लगेर निरञ्जना भगवती मन्दिरमा भित्र्याउने चलन रहे पनि त्यो परम्परा पछिल्लो समय हराएको स्थानीय मन्दिर संरक्षण समितिले जनाएको छ। केही वर्षअघिसम्म गोरखाबाट ल्याइएको फूलपाती भैरवी मन्दिरमा भित्र्याउने र त्यहाँबाट बेलकोट पुर्‍याउने गरिन्थ्यो। अहिले उक्त परम्परा निरन्तर हुन सकेको छैन।

निरञ्जना भगवती मन्दिरमा सामूहिक जमरा राख्ने र दसैँका अवसरमा विशेष मेला सञ्चालन गर्ने गरिन्छ। फूलपाती भित्र्याएपछि मन्दिर क्षेत्रमा दसैँको रौनक सुरु हुन्छ। महाअष्टमीको राति कालरात्रि गर्ने तथा महानवमीका दिन ठूलो मेला लाग्ने परम्परा छ। मेलामा सांस्कृतिक कार्यक्रम, बलि तथा मालश्री गायनलगायत गतिविधि सञ्चालन गरिन्छन्।

बेलकोटगढी नगरपालिकाको सहयोगमा सामूहिक जमरा राख्ने र विशेष मेला सञ्चालन हुँदै आएको छ। स्थानीयवासी तथा विभिन्न सङ्घसंस्थाले दसैँअघि मन्दिर परिसरको सरसफाइ र बाटो मर्मतसमेत गरेका थिए।

नुवाकोटको तलेजु र निरञ्जना भगवती मन्दिरमा फूलपाती भित्र्याउने तथा सामूहिक जमरा राख्ने परम्परा धार्मिक आस्था र ऐतिहासिक पहिचानसँग जोडिएको छ। स्थानीयवासीले यी परम्परालाई केवल पर्व मनाउने विधिका रूपमा नभई पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदाका रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्