ओमानलाई १० रनले हराउँदै नेपालको तेस्रो जित, अङ्क तालिकामा छैटौँ स्थानमा
काठमाडौं,कात्तिक ३ । आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत नेपालले ओमानलाई १० रनले पराजित गरेको छ। सोमबार ओमानको अल अमेरतस्थित मिनिस्ट्री टर्फ–१ मैदानमा भएको खेलमा जित निकाल्दै नेपालले जारी शृङ्खलामा तेस्रो जित दर्ता गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ओमानसामु २८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको ओमानले सात विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो।
ओमानका लागि जतिन्दर सिंहले ८९ र हमाद मिर्जाले ८७ रन बनाए। त्यस्तै, हसनैन साह ४० रनमा अविजित रहे भने हसनैन उल वहाबले १५ र कप्तान बिनायक शुक्लाले १३ रन जोडे।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले समान दुई विकेट लिए। कप्तान सन्दीप लामिछाने र नन्दन यादवले एक–एक विकेट हात पारे।
यसअघि नेपालका लागि कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र देव खनालले अर्धशतकीय पारी खेलेका थिए। रोहितले ८१ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ८० रन बनाए। दीपेन्द्रले ६२ बलमा चार छक्का र तीन चौकाको मद्दतमा ६९ रन जोडे भने देवले ६५ बलमा चार चौका र एक छक्कासहित ५७ रन बनाए।
त्यस्तै, ईशान पाण्डेले २९ र बसिर अहमदले १७ रनको योगदान दिए। ओमानका साह फैसलले पाँच विकेट लिए।
यस जितसँगै नेपाल लिग–२ को अङ्क तालिकामा छैटौँ स्थानमा उक्लिएको छ। जारी संस्करणमा ३६ खेल खेलेको नेपालले १४ खेलमा जित, २० खेलमा हार र दुई खेलमा अङ्क बाँडेको छ। नेपालले कुल ३० अङ्क जोडेको छ।

