जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात, ५५ करोडको कारोबार हुने अनुमान
जुम्ला,कात्तिक ३ । जुम्लाबाट यस वर्ष सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ। कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा उत्पादन भएको स्याउ बजारमा जाने क्रम जारी रहेको छ।
कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार यस वर्ष जुम्लामा करिब १९ हजार ५०० मेट्रिकटन स्याउ उत्पादन हुने र त्यसबाट ५५ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ। हाल किसानले स्थानीय बगैँचाबाट प्रतिकेजी न्यूनतम ७५ रुपैयाँमा स्याउ बिक्री गरिरहेका छन्।
तातोपानी गाउँपालिका–६ बाँजारावलामा सात हजार १४० रोपनी क्षेत्रफलमा गरिएको सामूहिक स्याउ खेतीबाट ३४ मेट्रिकटन स्याउ उत्पादन भएको छ। उक्त स्याउ बिक्रीबाट ३० लाख रुपैयाँ बराबरको कारोबार भएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो।
जुम्लामा करिब चार हजार ६०५ हेक्टर अर्थात् ९२ हजार ८० रोपनी क्षेत्रफलमा स्याउ खेती हुँदै आएको छ। चालु आर्थिक वर्षमा थप १०८ हेक्टर अर्थात् दुई हजार १६० रोपनी क्षेत्रफलमा स्याउ खेती विस्तार गर्ने लक्ष्य कृषि विकास कार्यालयले लिएको छ।
जिल्लामा उच्च जातको फुजी स्याउ ५२ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ। यस वर्ष ४९ हेक्टर क्षेत्रफलमा फुजी स्याउ फलेको कार्यालयले जनाएको छ। यसबाहेक रेड डेलिसेस, रोयल डेलिसेस, गोल्डेन, रिचा रेड, जनाथन, स्पोरलगायत स्थानीय जातका स्याउको पनि खेती तथा बिक्री वितरण हुँदै आएको छ।
व्यापारीले केही स्याउ शीतभण्डार र घरमा भण्डारण गरेर राखेकाले आगामी दिनमा निर्यातको परिमाण र कारोबार रकम अझै बढ्न सक्ने कार्यालयको अनुमान छ। जुम्लाका आठवटै स्थानीय तहका करिब १९ हजार घरधुरी स्याउ खेतीमा निर्भर रहेको कार्यालयले जनाएको छ।
यस वर्ष भारतबाट आउने स्याउको आयात बन्द भएपछि जुम्लाको स्याउले राम्रो बजार पाएको स्थानीय व्यापारीले बताएका छन्। हिमा गाउँपालिकाकी स्याउ व्यापारी माया रोकायाका अनुसार उहाँले जुम्लाबाट एक हजार ५०० कार्टुन स्याउ खरिद गरी नेपालगञ्जमा बिक्री गर्नुभएको छ।

