महानवमीमा आज तलेजु भवानी मन्दिर बिहान ५ बजेदेखि सर्वसाधारणका लागि खुला



काठमाडौं,कात्तिक ३। विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज महानवमीका अवसरमा सर्वसाधारणका लागि खुला गरिएको छ ।

हनुमानढोका दरबार हेरचाह अड्डाले मङ्गलबार बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म भक्तजनलाई पूजा, आराधना तथा दर्शनका लागि मन्दिर खुला गर्ने निर्णय गरेको हो।

दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले सरोकारवाला निकायसँगको छलफलपछि मन्दिर खुला गर्ने निर्णय भएको राष्ट्रिय समाचार समिति (रासस) लाई जानकारी दिनुभयो।

तलेजु भवानीको मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गर्ने परम्परा छ। यस दिन दर्शन गर्न हजारौँ भक्तजनको भीड लाग्ने गर्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार गत असोज ३१ गते शनिबार बिहान ७ः३७ बजे तुलजा भवानीलाई हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको थियो। सोही दिन बिहान १०ः३९ बजे देवीलाई स्थिरासनमा राखिएको थियो।

महाअष्टमीका अवसरमा आज राति मूलचोकमै कालरात्रि पूजा गरिनेछ। उक्त पूजामा ५४ बोका र ५४ राँगाको बलिसहित आराधना गरिने दरबार हेरचाह अड्डाले जनाएको छ।

विजयादशमीसम्म तलेजु भवानीलाई मूलचोकमै राखेर पूजा तथा आराधना गरिनेछ। कात्तिक ४ गते बुधबार विजयादशमीका दिन बिहान १०ः५१ बजे देवीलाई यात्रा गराउने र बिहान ११ः५२ बजे मूल मन्दिरमा स्थिरासन गराउने साइत तय भएको छ।

प्रतिक्रिया दिनुहोस्