तातोपानी नाका नियमित सञ्चालन गर्न माग, सीमामा ४५ भन्दा बढी कन्टेनर रोकिए



सिन्धुपाल्चोक,कात्तिक ३ । नेपाल–चीनको तातोपानी नाका नियमित रूपमा सञ्चालन गर्न माग गरिएको छ। कात्तिक १ गतेदेखि अस्थायी रूपमा सञ्चालनमा ल्याइएको नाका हाल तीन दिन मात्रै खुल्ने भएकाले दसैँ–तिहार लक्षित सामग्री बोकेका ४५ भन्दा बढी कन्टेनर चीनतर्फ रोकिएका छन्।

नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीका अनुसार चीनको सिचाङस्थित न्यालम क्षेत्रमा चाडपर्वका लागि ल्याइएका सामान बोकेका कन्टेनर रोकिएका हुन्। नाका सीमित दिन मात्रै सञ्चालन हुँदा ती सामग्री नेपाल भित्र्याउन कठिन भएको उहाँले बताउनुभयो।

“चाडपर्व लक्षित सामान बोकेका ४५ भन्दा बढी कन्टेनर सीमामा रोकिएका छन्। तीन दिन मात्रै सञ्चालन हुने नाकाबाट ती सामान ल्याउन सम्भव छैन, त्यसैले नियमित सञ्चालन आवश्यक छ,” पराजुलीले भन्नुभयो।

उहाँका अनुसार सङ्घले नाका निरन्तर सञ्चालनका लागि चीन सरकार र नेपालस्थित चिनियाँ दूतावासलाई ध्यानाकर्षण पत्र बुझाइसकेको छ। रोकिएका सामग्रीमध्ये नाशवान् वस्तु, कृषिजन्य उत्पादन तथा मौसमी व्यापारिक सामग्रीसमेत रहेकाले बिग्रने जोखिम बढेको उहाँको भनाइ छ।

अन्य नाकासमेत सञ्चालनमा नरहेको अवस्थामा दुई देशबीचको व्यापार सहज बनाउन तातोपानी नाका पूर्ण रूपमा सञ्चालन गर्नुपर्ने सङ्घले जनाएको छ।

तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नरेन्द्रसिंह चैसिरका अनुसार आइतबार तीन वटा मालवाहक कन्टेनर नाकाबाट नेपाल भित्रिएका थिए भने सोमबार साँझसम्म सात वटा कन्टेनर मात्रै आएका छन्।

चीनले मालवाहक ट्रकलाई मात्रै प्रवेश अनुमति दिएका कारण साना कन्टेनर आउन नसकेको उहाँले बताउनुभयो। नेपाल भित्रिएका कन्टेनरमा फलफूल, जुत्ता, तयारी पोसाक तथा कृषिजन्य सामग्री रहेको भन्सार कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्