नुवाकोट कारागारका ७३३ कैदीबन्दीले सामूहिक रूपमा मनाए दसैँ



नुवाकोट,कात्तिक ५ । नुवाकोटस्थित केन्द्रीय कारागारका ७३३ जना कैदीबन्दीले एकआपसमा टीका लगाएर, खुसी साटासाट गर्दै सामूहिक रूपमा यस वर्षको बडादसैँ मनाएका छन्।

विदुर नगरपालिका–६ चण्डीपोखरीस्थित खम्पाक्याम्पमा रहेको कारागारमा रहेका कैदीबन्दीले विजयादशमीका दिन बुधबार एकआपसमा टीका लगाउनुका साथै विभिन्न परिकार तयार गरी सामूहिक भोज गरेर दसैँ मनाएका हुन्। कारागारका जेलर भेषबहादुर कुँवरका अनुसार कैदीबन्दीले आफैँ रकम संकलन गरी राँगा, खसीबोका तथा कुखुराको मासु खरिद गरेर सामूहिक भोजन गरेका थिए।

दुई महिनाअघि आएको अकल्पनीय बाढीको कहरबीच पनि विभिन्न मुद्दामा कैद सजाय भोगिरहेका तथा मुद्दाको फैसला पर्खिरहेका कैदीबन्दीले कारागारभित्रै दसैँको खुसी साटेका हुन्। कारागार प्रशासनले कैदीबन्दीका आफन्तलाई समेत कारागारमै आएर टीका तथा जमरा लगाइदिने व्यवस्था मिलाएको थियो। विजयादशमीका दिन बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म आफन्तले टीका लगाइदिने व्यवस्था गरिएको जेलर कुँवरले जानकारी दिए।

कैदीबन्दीलाई दसैँ खर्चस्वरूप सरकारले प्रतिव्यक्ति ५०० रुपैयाँ उपलब्ध गराएको थियो। उक्त रकम अपुग भएपछि आफन्त तथा शुभचिन्तकबाट सहयोग जुटाउनुका साथै कैदीबन्दीले पनि रकम संकलन गरेर दसैँ मनाएका थिए। कारागार प्रशासनका अनुसार कैदीबन्दीको सामूहिक रमाइलो तथा अन्य गतिविधि कोजाग्रत पूर्णिमासम्म जारी रहनेछ।

यसैबीच, नुवाकोटको छिमेकी जिल्ला रसुवाको धुन्चेस्थित जिल्ला कारागारमा रहेका ८४ जना कैदीबन्दीले पनि सामूहिक रूपमा बडादसैँ मनाएका छन्। आठ महिलासहित ८४ जना कैदीबन्दीले एकआपसमा टीका लगाउँदै र खुसी साटासाट गर्दै दसैँ मनाएका हुन्।

रसुवा कारागारका जेलर कैलाश देवकोटाका अनुसार कैदीबन्दीलाई दसैँ खर्चस्वरूप सरकारले प्रतिव्यक्ति ३०० रुपैयाँ उपलब्ध गराएको थियो। कैदीबन्दीले उक्त रकममा थप रकम जुटाएर एउटा राँगा, एउटा खसी तथा आवश्यक अन्य मासु खरिद गरी सामूहिक भोजन गरेका थिए। त्यहाँ पनि कैदीबन्दीका आफन्तलाई कारागारमै आएर टीका लगाइदिने व्यवस्था मिलाइएको थियो।

उता, जिल्ला प्रहरी कार्यालय नुवाकोटमा कार्यरत प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीका बालबालिकालाई प्रहरी उपरीक्षक विपीन रेग्मीले विजयादशमीको टीका तथा जमरा लगाइदिएका छन्।

प्रतिक्रिया दिनुहोस्