बाँकेको कपासीमा विद्युत् सर्ट भएर आगलागी, सात घर पूर्णरूपमा जले



बाँके,कात्तिक ५ । बाँकेको जानकी गाउँपालिका–६ कपासीमा विद्युत् सर्ट भएर आगलागी हुँदा सातवटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। आगलागीबाट एक घरको झ्यालमा समेत क्षति पुगेको छ।

बुधबार दिउँसो करिब २ः२० बजे स्थानीय इद्दु खानको घरमा विद्युत् सर्ट भएर आगलागी भएको हो। आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा नियन्त्रणको काममा जुटेको थियो।

कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाका दमकलको सहयोगमा दिउँसो ४ बजे आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागीबाट मानवीय तथा चौपाया क्षति भने नभएको बताइएको छ।

आगलागीबाट साबिर खान, इद्दु खान, फिरोज खान र जाबिर खानका खरले छाएका एकतले कच्ची घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। त्यस्तै, जाबेद खान, सरनाम खान र सौरभ खानका टिनले छाएका एकतले कच्ची घर पनि पूर्णरूपमा जलेर नष्ट भएका छन्।

यसैगरी, स्थानीय महेश खानको पक्की घरको एउटा झ्यालमा आगलागीबाट क्षति पुगेको छ।

आगलागीबाट भएको अन्य क्षतिको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्