देशभर निरन्तर वर्षा, पाकेको धान खेतमै ढलेपछि किसान चिन्तित
भोजपुर,कात्तिक १४ । हाल देशका धेरै स्थानमा वर्षा भैरहेको छ । भोजपुरमा धान पाकेर भित्र्याउने समयमा मौसम प्रतिकूल बनेर निरन्तर वर्षा हुन थालेपछि किसान चिन्तित बनेका छन् । खेतमा धान पाकेर पहेँलपुर भएको अवस्थामा वर्षा र असिनाको जोखिम बढेपछि बाली काटेर सुरक्षित रूपमा घरमा भित्र्याउन समस्या भएको हो ।
जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा यतिबेला किसान धान काट्ने र थन्क्याउने तयारीमा छन् । तर, बिहीबारदेखि भइरहेको निरन्तर वर्षाले पाकेको धान खेतमै ढल्न थालेको छ । काटेर राखेको धानसमेत भिज्ने र दाना झर्ने जोखिम बढेपछि किसानको मेहनत खेर जाने चिन्ता बढेको छ ।
टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कका किसान टंकप्रसाद घिमिरेले निरन्तरको वर्षाले पाकेको धान खेतमै ढल्न थालेको बताउनुभयो । उहाँका अनुसार धान पाकेर पहेँलपुर भएको अवस्थामा वर्षा नरोकिँदा थप क्षति हुने जोखिम बढेको छ ।
त्यस्तै, षडानन्द नगरपालिका–४ की किसान सङ्गीता राईले धान भित्र्याउने मुख्य समयमा वर्षा भएपछि काट्ने, सुकाउने र घरमा थन्क्याउने काम प्रभावित भएको बताउनुभयो । मौसम प्रतिकूल हुँदा पाकेको धान काट्नेदेखि काटिसकेको बाली सुरक्षित रूपमा घरसम्म पुर्याउन कठिनाइ भएको उहाँको भनाइ छ ।
भोजपुरका ग्रामीण क्षेत्रका किसानका लागि धान प्रमुख खाद्य बालीमध्ये एक हो । वर्षभरि परिवारलाई खान पुग्ने अन्न उत्पादन गर्ने उद्देश्यले महिनौँसम्म गरेको मेहनत र लगानी बाली भित्र्याउने समयमा मौसम प्रतिकूल हुँदा जोखिममा परेको छ ।
धान काट्ने तयारीमा रहेका किसान अहिले मौसम खुल्ने प्रतीक्षामा छन् । समयमै घाम नलागे खेतमा पाकेको धान काट्न, सुकाउन र सुरक्षित रूपमा भित्र्याउन नसकिने तथा उत्पादनमा क्षति पुग्ने उनीहरूको चिन्ता छ ।

