‘अर्नब’ चक्रवातको प्रभाव कायमै, आजदेखि मौसम क्रमिक सुधार हुने
काठमाडौं,कात्तिक १४ । बंगालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातको प्रभावले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ भने धेरै ठाउँमा बिहीबार बेलुकीदेखि नै निरन्तर झरी परिरहेको छ ।
अहिले पूर्वी भेगको तुलनामा मध्य र पश्चिमी क्षेत्रमा वर्षा बढी भइरहेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा तथा सुदूरपश्चिमका धेरै ठाउँ र कोशी, मधेश तथा बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा मनाङको तालमा सबैभन्दा बढी ७४ मिलिमिटर वर्षा मापन भएको छ । अहिलेसम्म ठूलो बाढी आउने गरी वर्षा नभए पनि केही नदी तथा खोलामा बाढीको जोखिम कायमै रहेको छ ।
आज दिउँसो पनि कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा तथा गण्डकी प्रदेशका केही ठाउँमा वर्षा हुने सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थानमा हल्का वर्षा तथा कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसोदेखि ‘अर्नब’ चक्रवातको प्रभाव क्रमशः कमजोर हुँदै जानेछ । त्यससँगै वर्षाको गतिविधि पनि कम हुँदै जाने अनुमान गरिएको छ । यद्यपि हल्का वर्षाको सम्भावना कायमै रहेकाले मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन र आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।

