सञ्चारकर्मीमाथिको धरपकडबारे प्रधानमन्त्री सचिवालय र प्रहरीको वक्तव्य बाझियो



काठमाडौँ,कात्तिक १४ । सञ्चार क्षेत्रमा शुक्रबार भएको धरपकडको घटनालाई लिएर प्रधानमन्त्रीको सचिवालय र नेपाल प्रहरीको वक्तव्य बाझिएको छ । प्रधानमन्त्रीको सचिवालयले घटनामा प्रधानमन्त्री कार्यालयको संलग्नता र पूर्वजानकारी नरहेको दाबी गरेको छ भने नेपाल प्रहरीले प्रधानमन्त्री कार्यालयबाट भएको चासोका आधारमा सञ्चारकर्मीलाई बोलाइएको जनाएको छ ।

नेपाल प्रहरीले शुक्रबार मध्यरातमा वक्तव्य जारी गर्दै प्रधानमन्त्री कार्यालयबाट भएको चासोप्रति क्रियाशील हुँदै नेपाल प्रहरीको साइबर ब्युरोले केही सञ्चारकर्मीलाई कार्यालयमा बोलाएको जनाएको हो ।

प्रहरीका अनुसार पछिल्लो समय नेपाल प्रहरीविरुद्ध सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा गलत समाचार र सन्देशहरू निरन्तर प्रचार भइरहेका छन् । यस्ता प्रचारले प्रहरीको व्यावसायिकता, सर्वसाधारणको विश्वास, सरकार र प्रहरी संगठनबीचको सम्बन्ध तथा अनुसन्धानका विषयमा जनमानसमा नकारात्मक धारणा सिर्जना गर्ने प्रहरीको भनाइ छ ।

प्रहरीले त्यस्ता प्रचारको सत्यता, तथ्यपरकता र कानुनी आधारबारे सामान्य जानकारी लिने उद्देश्यले सञ्चारकर्मीलाई बोलाइएको दाबी गरेको छ । उक्त कार्यलाई प्रहरीको कार्यसम्पादनअन्तर्गतको सही मनसाय भएको उल्लेख गर्दै सुरक्षित समाज निर्माणमा सहयोग पुग्ने कदमका रूपमा व्याख्या गरेको छ ।

वक्तव्यमा नेपाल प्रहरी प्रेस स्वतन्त्रताप्रति सकारात्मक रहेको उल्लेख गर्दै सञ्चारकर्मीको सुरक्षा र प्रेस स्वतन्त्रताप्रति सदैव प्रतिबद्ध रहेको जनाएको छ ।

तर प्रधानमन्त्रीको सचिवालयले भने घटनामा प्रधानमन्त्री कार्यालयको कुनै संलग्नता र पूर्वजानकारी नरहेको स्पष्ट पारेको छ । यससँगै सञ्चारकर्मीलाई बोलाउने विषयमा प्रधानमन्त्री कार्यालयको चासो रहेको भन्ने प्रहरीको दाबी र सचिवालयको भनाइबीच विरोधाभास देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्