एनपिएलमा सुदूरपश्चिम रोयल्सको व्यवहारमाथि प्रश्न, क्यानलाई छानबिन गर्न आग्रह
काठमाडौं,कात्तिक १५ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेलअघि भएको विवादले नेपाली क्रिकेटको खेलभावना र अनुशासनमाथि प्रश्न उठाएको छ।
वर्षाका कारण पाँच ओभरमा सीमित गरिएको खेलमा मैदान खेल्न योग्य रहेको निर्णयपछि पनि सुदूरपश्चिम रोयल्सले टस गर्न ढिलाइ गरेको थियो। कप्तान दीपेन्द्रसिंह ऐरी निर्धारित समयमा टसका लागि उपस्थित नभएपछि क्यानका सचिव पारस खड्का, म्याच रेफ्री र दुवै टोलीका पदाधिकारीबीच लामो छलफल भएको थियो।
लामो विवादपछि राति ९ बजेर ५ मिनेटमा टस भएको खेलमा सुदूरपश्चिमले बलिङ रोजेको थियो। तर खेल सुरु हुन पनि थप ढिलाइ भएको थियो। खेलपछि आयोजित पुरस्कार वितरण समारोह र पत्रकार सम्मेलनमा समेत रोयल्सका कप्तान, प्रशिक्षक तथा व्यवस्थापक सहभागी भएनन्।
यस घटनाले दर्शक, मैदानमा खटिएका कर्मचारी, विपक्षी टोली र प्रतियोगिता आयोजकप्रतिको जिम्मेवारीमाथि प्रश्न उठाएको छ।
घटनाबारे नेपाल क्रिकेट संघ (क्यान) ले म्याच रेफ्रीको प्रतिवेदन, अम्पायरको विवरण र टोली व्यवस्थापनको स्पष्टीकरणका आधारमा छानबिन गरी आवश्यक अनुशासनात्मक कारबाही गर्नुपर्ने आवाज उठेको छ। सुदूरपश्चिम रोयल्सले पनि घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्दै समर्थकसँग जवाफदेही हुनुपर्ने देखिएको छ।

