पाँच जिल्लामा दुई दिनसम्म विद्युत् आपूर्ति बन्द हुने
मोरङ,कात्तिक १५ । नेपाल विद्युत् प्राधिकरणले केरौन १३२/३३ केभी सबस्टेसनका उपकरण परीक्षण तथा सञ्चालनसम्बन्धी कामका लागि कोशी प्रदेशका पाँच जिल्लामा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।
प्राधिकरणको केरौन सबस्टेसन आयोजनाले सूचना जारी गर्दै शनिबार र आइतबार विद्युत् सेवा अवरुद्ध हुन सक्ने जनाएको हो ।
दुहबी ग्रिड महाशाखाअन्तर्गतको दुहबी–दमक १३२ केभी प्रसारण लाइनको केरौनस्थित टावर नम्बर ६८ र ६९ बीच डेड इन्ड टावरदेखि टेक अफ ग्यान्ट्रीसम्म लुप इन लुप आउट (एलआईएलओ) जडान गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार शनिबार बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा बन्द हुनेछ । मोरङको उर्लाबारी र पथरी आसपासका क्षेत्रमा पनि विद्युत् आपूर्ति अवरुद्ध हुनेछ ।
अर्नब चक्रवातको प्रभावका कारण शनिबार निर्धारित काम सुरु हुन नसकेमा वा आंशिक रूपमा मात्रै सम्पन्न भएमा आइतबार बिहान ४ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुन सक्नेछ ।
त्यस्तै, आइतबार पनि काम सम्पन्न हुन नसकेमा सोमबार बिहान ४ बजेदेखि १० बजेसम्म विद्युत् सेवा अवरुद्ध हुन सक्ने प्राधिकरणले जनाएको छ ।
तोकिएको समयभन्दा अगावै काम सम्पन्न भएमा विद्युत् सेवा त्यसअघि नै सुचारु गरिने प्राधिकरणले स्पष्ट पारेको छ । विद्युत् आपूर्ति बन्द हुँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।

