अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसम क्रमिक सुधार हुने
काठमाडौं,कात्तिक १५ । अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक विकसित न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएपछि देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र रहेकाले मौसममा सुधार आउने देखिएको हो ।
हाल लुम्बिनी प्रदेशसहित देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर आंशिक बदली रहनेछ । हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, आज राति पनि देशभर आंशिक बदली रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

