कांग्रेस नुवाकोटमा पार्टी कब्जा र १८ करोडको आरोपबारे छानबिनको माग
नुवाकोट, कात्तिक १७ । नेपाली कांग्रेस नुवाकोटको नियमित महाधिवेशन पक्षधरले पार्टी कब्जा गर्ने प्रवृत्ति र आर्थिक चलखेलसम्बन्धी आरोपप्रति गम्भीर आपत्ति जनाउँदै सत्यतथ्य सार्वजनिक गर्न पार्टी नेतृत्वसँग माग गरेको छ।
नियमित महाधिवेशन पक्षधर नुवाकोटका संयोजक श्रीराम श्रेष्ठले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा कांग्रेस कुनै व्यक्ति, गुट वा समूहको निजी सम्पत्ति नभएको उल्लेख गर्दै पार्टीलाई आर्थिक शक्ति तथा विचौलियाको प्रभावबाट कब्जा गर्ने प्रयास भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
विज्ञप्तिमा गगन थापासँग जोडेर १८ करोड रुपैयाँ विचौलियालाई दिएर पार्टीको नेतृत्व तथा संगठन कब्जा गरिएको भन्ने आरोप सार्वजनिक रूपमा उठिरहेको भन्दै त्यसको सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित नेतृत्वसँग माग गरिएको छ।
कांग्रेसको नेतृत्व आर्थिक चलखेल, विचौलिया वा सीमित समूहको स्वार्थबाट नभई पार्टीको विधान, लोकतान्त्रिक पद्धति र कार्यकर्ताको वास्तविक जनमतबाट स्थापित हुनुपर्ने धारणा विज्ञप्तिमा राखिएको छ।
नियमित महाधिवेशन पक्षधरले पार्टी कब्जा गरिएको भन्ने विषयमा निष्पक्ष छानबिन गर्नुपर्ने, १८ करोड रुपैयाँसम्बन्धी आरोपको सत्यतथ्य सार्वजनिक गरी सम्बन्धित पक्षले स्पष्ट जवाफ दिनुपर्ने, पार्टीको विधान, लोकतान्त्रिक मूल्य र आन्तरिक निर्वाचन प्रक्रियाको पूर्ण सम्मान गर्नुपर्ने माग गरेको छ।
त्यस्तै, पार्टीलाई आर्थिक चलखेल तथा विचौलियाको प्रभावबाट मुक्त राख्नुपर्ने र आम कार्यकर्ता तथा शुभेच्छुकको भावनाको सम्मान गर्नुपर्ने माग पनि अघि सारिएको छ।
विज्ञप्तिमा पार्टीभित्रको लोकतन्त्र र कार्यकर्ताको अधिकारमाथि हुने कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने उल्लेख गर्दै पार्टीको विचार, सिद्धान्त, विधि र विधानको रक्षा गर्नु सबैको जिम्मेवारी भएको जनाइएको छ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको समर्थन रहेको कांग्रेसको नियमित महाधिवेशन पक्षधरले नुवाकोटका विभिन्न पालिका, प्रदेश समिति तथा क्षेत्र नम्बर २ को क्षेत्रीय समितिको अधिवेशन सम्पन्न गरिसकेको छ।
नियमित महाधिवेशन पक्षधरले पार्टीको आन्तरिक लोकतन्त्र, विधि र कार्यकर्ताको अधिकारको पक्षमा निरन्तर उभिने प्रतिबद्धतासमेत जनाएको छ।

