नुवाकोट प्रहरीलाई सामाजिक सञ्जाल सदुपयोगदेखि भीड नियन्त्रणसम्मको प्रशिक्षण



नुवाकोट,कात्तिक १७ । बढ्दो सामाजिक सञ्जालको दुरुपयोग रोक्न तथा प्रहरी कर्मचारीको कार्यक्षमता अभिवृद्धि गर्न नुवाकोटमा प्रहरीलाई विभिन्न विषयमा अनुशिक्षण प्रदान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोट तथा मातहतका कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई सामाजिक सञ्जालको सदुपयोग, आचारसंहिता, रक्षात्मक सवारी सञ्चालन, ट्राफिक नियमको पालना, व्यक्तिगत सुरक्षा तथा भीड नियन्त्रणसम्बन्धी प्रशिक्षण दिइएको हो ।

प्रहरी निरीक्षक विवेक आलेले प्रहरी कर्मचारीहरूलाई सामाजिक सञ्जालको मर्यादित, जिम्मेवार र सुरक्षित प्रयोग, सूचना सम्प्रेषणमा अपनाउनुपर्ने सावधानी तथा प्रहरी कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिताका विषयमा अनुशिक्षण प्रदान गर्नुभएको थियो ।

यसैगरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका निमित्त प्रमुख प्रहरी सहायक निरीक्षक उज्ज्वल घलेले ६४ जना प्रहरी कर्मचारीलाई लक्षित गरी रक्षात्मक सवारी सञ्चालन, ट्राफिक नियमको प्रभावकारी पालना, सवारी दुर्घटना न्यूनीकरण तथा व्यक्तिगत सुरक्षासम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।

जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षक आलेद्वारा प्रहरी कर्मचारीहरूलाई भीड नियन्त्रण अभ्यास तथा प्रहरीद्वारा क्षति न्यूनीकरणसम्बन्धी प्रशिक्षणसमेत सञ्चालन गरिएको थियो ।

प्रहरी कर्मचारीलाई जिम्मेवार, सुरक्षित र प्रभावकारी रूपमा कार्यसम्पादन गर्न सक्षम बनाउने उद्देश्यले अनुशिक्षण कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्