बाढीले पुल बगाएपछि स्थानीयको पहलमा फड्के निर्माण, तारुकाघाटमा झोलुङ्गे पुल बन्ने
नुवाकोट,कात्तिक १७ । गत भदौ १० गते आएको विनाशकारी बाढीले नुवाकोटका विभिन्न स्थानमा पुल बगाएपछि प्रभावित क्षेत्रमा आवागमन सहज बनाउन पुनर्निर्माणका काम अघि बढाइएको छ । स्थानीयवासीको पहलमा विदुर नगरपालिका–४ रङ्गघारीदेखि विदुर नगरपालिका–१२ गौरिबेँसी अक्करे जोड्ने फड्के निर्माण सुरु गरिएको छ भने तारकेश्वर गाउँपालिका–२ स्थित तारुकाघाटमा झोलुङ्गे पुल निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।
ल्हेन्दे खोलाबाट रसुवागढी हुँदै भोटेकोशी र त्रिशूली नदीमा मिसिएको बाढीले विदुर र गौरिबेँसी जोड्ने दुईवटा पुल बगाएपछि स्थानीयवासी जोखिमपूर्ण तुइन यात्रा गर्न बाध्य भएका थिए । दैनिक आवतजावतमा समस्या भएपछि स्थानीयवासीको पहलमा सोमबारदेखि फड्के निर्माण अभियान सुरु गरिएको हो ।
फड्के निर्माणका लागि आवश्यक जगसमेत तयार गरिएको छ । निर्माण कार्यमा विदुर नगरपालिकाले आवश्यक भारी उपकरण उपलब्ध गराएर सहयोग गरेको छ । फड्के निर्माणका लागि आई बिमको सहयोग अपेक्षा गरिएको स्थानीयवासी सुरेन्द्र रिमालले बताउनुभयो । नगरपालिकाबाट सम्भव नभए अन्य संघसंस्थामार्फत सहयोग जुटाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।
यसैबीच, तारकेश्वर गाउँपालिका–२ स्थित तारुकाघाटमा त्रिशूली नदी वारपार गर्ने झोलुङ्गे पुल निर्माण प्रक्रिया अघि बढाइएको छ । बाढीले पुल बगाएपछि स्थानीयवासीले नदी वारपार गर्न कठिनाइ भोग्दै आएका थिए ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोट, हेल्भेटास नेपाल र तारकेश्वर गाउँपालिकाको सहकार्य तथा समन्वयमा पुल निर्माण प्रक्रिया सुरु गरिएको हो । पुल निर्माणका लागि प्राविधिक टोलीले स्थलगत निरीक्षण गरी सम्भाव्यता, भौगोलिक अवस्था तथा वातावरणीय पक्षको अध्ययन गरेको रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठले बताउनुभयो ।
पुल निर्माणको योजना, लागत अनुमान, प्राविधिक पक्ष तथा आगामी कार्ययोजनाबारे जनप्रतिनिधि, प्राविधिक विशेषज्ञ र गाउँपालिकाका प्रतिनिधिबीच छलफलसमेत गरिएको उहाँले जानकारी दिनुभयो ।
तारकेश्वर गाउँपालिका–२ का वडाध्यक्ष शिवप्रसाद पनेरुका अनुसार पुल बगाएपछि विद्यार्थी, किसान तथा अत्यावश्यक कामका लागि आवतजावत गर्ने स्थानीयवासी बढी प्रभावित भएका छन् । तारुकाघाटमा निर्माण हुने झोलुङ्गे पुलले सुरक्षित आवागमन सहज बनाउनुका साथै कृषि उपज बजारसम्म पुर्याउन समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
तारुकाघाटमा निर्माणाधीन झोलुङ्गे पुलको सोमबार शिलान्यास गरिएको छ । पुल निर्माण सम्पन्न भएपछि नुवाकोटको दक्षिणपूर्वी भेगका बासिन्दालाई आवतजावतमा सहजता पुग्ने विश्वास गरिएको छ ।
बाढी प्रभावित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले राहत सामग्रीसहित प्रतिपरिवार १० हजार रुपैयाँका दरले आर्थिक सहयोग गरिसकेको छ । प्रभावित परिवारको पुनःस्थापनाका लागि सरकारसँगको सहकार्यमा आवास निर्माणसम्बन्धी योजना तथा खाका तयार गर्ने कामसमेत अघि बढाइएको रेडक्रसले जनाएको छ ।

