नुवाकोटको मैरिटारमा बाढीपीडितका लागि ४० घरटहरा निर्माण सुरु



नुवाकोट,कात्तिक १७ । भदौ १० गतेको भोटेकोशी–त्रिशूली बाढीबाट घरबारविहीन बनेका परिवारको पुनःस्थापनाका लागि नुवाकोटको मैरिटारमा ४० वटा घरटहरा निर्माण सुरु गरिएको छ।

नेशनल भोलिन्टियर फोर्सको पहलमा विदुर नगरपालिका–३ स्थित बुधसिङघाटको मैरिटारमा निर्माण हुन लागेका आवासको नेकपा एमालेका केन्द्रीय सचिव महेश बस्नेतले बुधबार एक कार्यक्रमबीच उद्घाटन गरेका हुन्।

भोटेकोशी बाढीका कारण विस्थापित मैरिटारका बाढीपहिरो प्रभावित परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले घरटहरा निर्माण गर्न लागिएको हो। विपद्का कारण घरबार गुमाएका नागरिकलाई पुनःस्थापना गर्ने अभियानले प्रभावित परिवारलाई सुरक्षित बसोबासको व्यवस्था गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसअघि बेलकोटगढी नगरपालिकाको रातमाटेमा नेकपा तथा विदुर नगरपालिका–५ पिपलटारमा नेकपा एमालेले बाढीपीडितका लागि अस्थायी आवास निर्माण गरिसकेका छन्।

भोटेकोशी–त्रिशूली बाढीका कारण नुवाकोटमा मात्रै झण्डै दुई हजार परिवार विस्थापित भएका छन्। ठूलो संख्यामा परिवार घरबारविहीन भएपछि उनीहरूको सुरक्षित आवास र पुनःस्थापना अहिले प्रमुख चुनौती बनेको छ।

प्रतिक्रिया दिनुहोस्