तिहारमा पाल्पाली ढाकाको माग बढ्ने अपेक्षा



पाल्पा,कात्तिक १८। पाल्पामा हाते तानबाट उत्पादन हुने पाल्पाली ढाकाको माग बढ्दै गएको छ । घरेलु तानमा हातैले बुनेर तयार गरिने ढाका गुणस्तरीय हुने भएकाले उपभोक्ताको रोजाइमा पर्न थालेको हो । उत्पादनमा विविधीकरण भएसँगै पाल्पाली ढाका आन्तरिक तथा बाह्य पर्यटकका लागि समेत आकर्षणको वस्तु बनेको छ ।

आधुनिक प्रविधि र मेसिनबाट उत्पादन हुने ढाकाको तुलनामा हाते तानबाट उत्पादित ढाका केही महँगो पर्ने भए पनि यसको गुणस्तर र मौलिकताका कारण बजारमा माग उच्च रहेको व्यवसायीहरू बताउँछन् ।

नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारमा पाल्पाली ढाकाको व्यापार बढ्ने गरेको छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई ढाकाका सामग्री उपहार दिने परम्पराका कारण यसको कारोबार अन्य समयभन्दा बढी हुने गरेको हो । तिहारपछि आन्तरिक तथा बाह्य पर्यटकको भ्रमणको मौसम सुरु हुने भएकाले पनि ढाकाको व्यापार बढ्ने अपेक्षा गरिएको छ ।

तिहारमा दाजुभाइलाई ढाका टोपी, आस्कोट, टाइ र ब्याग तथा दिदीबहिनीलाई पछ्यौरा, सारी, कुर्ता–सुरुवाल र झोला उपहार दिने चलन छ । बच्चादेखि वृद्धसम्मका लागि शिरदेखि पाउसम्म आवश्यक पर्ने विभिन्न सामग्री ढाकाबाट तयार गरिँदै आएको छ । टीका र मालासँगै ढाका टोपी लगाउने प्रचलनले नेपालीपन झल्काउने भएकाले तिहारमा यसको प्रयोग थप बढ्ने गरेको छ ।

यस वर्ष बाढीपहिरोलगायतका घटनाले चाडपर्वको उत्साह केही कम भए पनि तिहार र पर्यटकीय भ्रमणको मौसम सुरु हुन लागेकाले ढाकाको व्यापार राम्रो हुने अपेक्षा गरिएको ढाका व्यवसायी राजेश भट्टराईले बताउनुभयो । विगतका वर्षमा चाडपर्वका बेला ढाकाको राम्रो व्यापार हुने गरेको उहाँको भनाइ छ ।

पाल्पाली ढाका उपहार तथा मायाको चिनोका रूपमा समेत बिक्री हुँदै आएको छ । चाडपर्वमा स्थानीय उत्पादनको प्रयोग बढाउँदा परम्परागत सीपको संरक्षणसँगै स्थानीय व्यवसायको प्रवर्द्धनमा पनि सहयोग पुग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्