रवि लामिछानेको निर्देशन : जनताको अपेक्षाअनुसार राजनीतिक चरित्र सुधार्नुस्



चितवन,कात्तिक २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्तालाई जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन दिनुभएको छ ।

रास्वपा चितवनले आज आयोजना गरेको विशेष सम्बोधन कार्यक्रममा उहाँले पार्टी सरकारको नेतृत्वमा पुगेपछि नेता तथा कार्यकर्ताको व्यवहार र गतिविधि थप जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

जनताले पार्टीलाई १८२ सिटसहित सरकारको नेतृत्व गर्ने अवसर दिएको उल्लेख गर्दै लामिछानेले त्यसलाई अहङ्कारको विषय बनाउन नहुने बताउनुभयो । समाजले औँल्याएका कमजोरी स्वीकार गर्दै सुधार गर्नुपर्ने उहाँको भनाइ थियो । आलोचना गर्ने समाजमाथि आक्रामक हुनु राजनीतिक चरित्र नभएको उहाँले स्पष्ट पार्नुभयो ।

“ऐनाले आफ्नो अनुहार देखाएपछि ऐना देखाउनेतिर झम्टिने त्यो राजनीतिक चरित्र होइन”, उहाँले भन्नुभयो ।

सभापति लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताले प्रशासन र प्रहरीलाई राजनीतिक दबाब दिने काम गर्न नहुने बताउनुभयो । जनताले दिएको अभिमतलाई उनीहरूकै अपमान हुने गरी प्रयोग नगर्न चेतावनी दिँदै उहाँले पार्टी ठूलो भएकै आधारमा राज्यका निकाय आफ्नो नियन्त्रणमा रहेको ठान्ने अहङ्कार त्याग्न आग्रह गर्नुभयो ।

“हामी रास्वपाका हौँ भन्दै प्रशासन र प्रहरीलाई राजनीतिक दबाब दिने काम गर्‍यौँ भने त्यो चरित्रले हामीलाई धेरै पर लैजाँदैन”, उहाँले भन्नुभयो, “हामीले भुईँ टेक्नुपर्छ, भुईँ छोड्नुहुँदैन ।”

पार्टीभित्र एकता कायम राख्न आग्रह गर्दै उहाँले चुनाव जित्दैमा आफूहरू विशेष व्यक्ति नभएको बताउनुभयो । सरकारका कामकारबाही सुधारका लागि पार्टीले सुझाव दिनुलाई विवादका रूपमा लिन नहुने उल्लेख गर्दै उहाँले पार्टीले सरकारको काममा बाधा अवरोध नगर्ने स्पष्ट पार्नुभयो ।

अदालत, प्रहरी, प्रेसलगायत सार्वजनिक संस्थाका विषयमा अनावश्यक टिप्पणी नगर्न पनि उहाँले नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । सार्वजनिक संस्थालाई कमजोर बनाउँदा देश र लोकतन्त्र दुवै कमजोर हुने उहाँको भनाइ थियो ।

सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण आवश्यक रहेको उल्लेख गर्दै लामिछानेले विधिको शासनअनुसार अनुसन्धान र कारबाही हुनुपर्नेमा जोड दिनुभयो । अनुसन्धान नगरी कसैलाई दोषी ठहर गर्ने तथा पक्राउ गर्ने प्रवृत्ति उचित नभएको उहाँले बताउनुभयो ।

“अदालत, प्रहरी, प्रेसलगायत भएभरका संस्था कमजोर भए देश कमजोर हुन्छ, लोकतन्त्र रहन सक्दैन”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्