पिकअप र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
मकवानपुर,कात्तिक २१ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७, अङ्गारेश्वरस्थित धरान–चतरा सडकखण्डमा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
शुक्रबार राति भएको दुर्घटनामा हेटौँडा–१७, हटियाका २७ वर्षीय सुदीप पाण्डेको मृत्यु भएको हो ।
हेटौँडाबाट सिन्धुलीतर्फ तरकारी लिएर जाँदै गरेको बा.प्र. ०१–०२८ च १७४७ नम्बरको पिकअप बोलेरो र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०३–००१ प ६४५९ नम्बरको मोटरसाइकल सडकको बीच भागमा ठोक्किएका थिए ।
दुर्घटनामा गम्भीर घाइते पाण्डेलाई प्रहरीले उद्धार गरी हेटौँडास्थित सिएमसी चुरेहिल अस्पताल पुर्याएको थियो । उपचारका क्रममा शुक्रबार राति नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
मृतकको शव अस्पतालमै राखिएको छ । प्रहरीले पिकअप गाडी र चालक सिन्धुलीको कमलामाई नगरपालिका–३ निवासी ४८ वर्षीय रमेश तामाङलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

