नुवाकोटमा देउसी-भैलो राति ९ बजेसम्म मात्र खेल्न प्रशासनको निर्देशन



नुवाकोट, कात्तिक २१। नुवाकोटमा तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्व मर्यादित, अनुशासित र शान्तिपूर्ण रूपमा मनाउन जिल्ला प्रशासन कार्यालयले जिल्लावासीलाई आग्रह गरेको छ। प्रशासनले देउसी–भैलोलगायत सांस्कृतिक कार्यक्रम राति ९ बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिएको छ।

शुक्रबार सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले चाडपर्वका नाममा सार्वजनिक स्थानमा होहल्ला गर्ने, झैझगडा गर्ने, मादक पदार्थ सेवन गरी पारिवारिक तथा सामाजिक जीवनमा असर पुर्‍याउने र सार्वजनिक शान्ति खलल पार्ने गतिविधि नगर्न अनुरोध गरेको हो।

प्रशासनले जुवातास खेल्ने तथा खेलाउने, भुइँचम्पा, पटका र आतसबाजीजस्ता जोखिमपूर्ण गतिविधि नगर्न पनि सचेत गराएको छ। वातावरण प्रदूषण हुने विस्फोटक तथा प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्री र वितरणमा समेत रोक लगाइएको जनाएको छ।

कानुनविपरीतका गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ। त्यस्ता गतिविधि भएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउन पनि आग्रह गरिएको छ।

चाडपर्वलाई आपसी सद्भाव, भाइचारा र सामाजिक एकता कायम गर्दै सभ्य, सुरक्षित र शान्तिपूर्ण रूपमा मनाउन प्रशासनले सबै जिल्लावासीमा अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्