बाढी प्रतिकार्यमा योगदान पुर्याएका नुवाकोटका चार स्वास्थ्य निकाय प्रदेशबाट सम्मानित
विदुर, कात्तिक २१। त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट सिर्जित विपद्का समयमा प्रभावकारी स्वास्थ्य सेवा प्रदान गरेको भन्दै नुवाकोटका चार स्वास्थ्य निकाय बागमती प्रदेश सरकारबाट सम्मानित भएका छन्।
बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोट, त्रिशूली अस्पताल, जनस्वास्थ्य कार्यालय नुवाकोट र विदुर नगरपालिका स्वास्थ्य शाखालाई सम्मान गरेको हो।
प्रदेशका मुख्यमन्त्री किरण थापामगर र स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले सम्बन्धित कार्यालयका प्रमुख तथा प्रतिनिधिलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए।
कार्यसम्पादन मूल्याङ्कनमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटले ७२ दशमलव ५ प्रतिशत अंक प्राप्त गर्दै बागमती प्रदेशमै प्रथम स्थान हासिल गरेको छ। आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य सेवा विस्तार, कार्यक्रम कार्यान्वयन, सेवा प्रवाह र संस्थागत व्यवस्थापनका सूचकका आधारमा चिकित्सालय उत्कृष्ट घोषित भएको हो। चिकित्सालयका प्रमुख डा. नरेन्द्रप्रसाद गिरीलाई सम्मान गरिएको थियो।
त्यस्तै, बाढीका कारण विभिन्न क्षेत्रमा क्षति पुगे पनि निरन्तर स्वास्थ्य सेवा प्रदान गर्नुका साथै प्रभावित क्षेत्रमा उपचार, स्वास्थ्य सेवा व्यवस्थापन, समन्वय र आपत्कालीन प्रतिकार्यमा योगदान पुर्याएको भन्दै जनस्वास्थ्य कार्यालय नुवाकोट, त्रिशूली अस्पताल र विदुर नगरपालिका स्वास्थ्य शाखालाई सम्मान गरिएको हो।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय नुवाकोटकी प्रमुख डा. अञ्जु कार्की, त्रिशूली अस्पतालका प्रमुख डा. राजेन्द्र लामा र विदुर नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारी सम्मानित भएका थिए।
चिकित्सालयका प्रमुख डा. गिरीले प्रदेशस्तरको उपलब्धि कर्मचारी, व्यवस्थापन समिति, सेवाग्राही, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाको सामूहिक प्रयासको परिणाम भएको बताए। उनले प्राप्त सम्मानले स्वास्थ्य सेवा प्रवाहलाई अझ गुणस्तरीय बनाउन प्रेरणा मिलेको उल्लेख गरे।
विपद्का समयमा स्वास्थ्य क्षेत्रमा प्रभावकारी प्रतिकार्य तथा निरन्तर सेवा प्रवाह गरेको योगदानको कदर गर्दै बागमती प्रदेश सरकारले नुवाकोटका स्वास्थ्य निकायलाई सम्मान गरेको हो।

