सूर्यगढीको निर्गुभूमे आधारभूत विद्यालयमा तीनकोठे भवन हस्तान्तरण
विदुर, कात्तिक २१। नुवाकोटको सूर्यगढी गाउँपालिका–१ काउले सेम्राङस्थित निर्गुभूमे आधारभूत विद्यालयको नवनिर्मित तीनकोठे विद्यालय भवन हस्तान्तरण गरिएको छ।
विद्यार्थीको पठनपाठनमा सहजता ल्याउने उद्देश्यले रेभेज नेपलीज फ्रान्सको आर्थिक तथा प्राविधिक सहयोग, मण्डला ट्रेकिङ एजेन्सी लाजिम्पाट काठमाडौं र सूर्यगढी गाउँपालिका–१ लच्याङको समन्वयमा भवन निर्माण गरिएको हो।
भवन हस्तान्तरण कार्यक्रममा रेभेज नेपलीज फ्रान्सका प्रतिनिधि, मण्डला ट्रेकिङ एजेन्सीका अध्यक्ष भीम गोलेसहितको टोली, वडाध्यक्ष राजकुमार तामाङ (रञ्जित), वडाका पदाधिकारी तथा कर्मचारी, समाजसेवी, बुद्धिजीवी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक र विद्यार्थीको सहभागिता रहेको थियो।
विद्यालयको भौतिक पूर्वाधार विकास तथा शैक्षिक वातावरण सुधारमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै सूर्यगढी गाउँपालिका र वडा कार्यालयले रेभेज नेपलीज फ्रान्सप्रति आभार व्यक्त गरेको वडाध्यक्ष राजकुमार तामाङ (रञ्जित)ले जानकारी दिए।

