बाढी प्रभावित तीन स्वास्थ्य चौकीमा प्रसूति उपकरण, छबिसेमा खानेपानी सञ्चालन
विदुर, कात्तिक २१। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटका स्वास्थ्य तथा खानेपानी संरचनाको पुनःस्थापनामा सहयोग भइरहेको छ।
त्रिशूली बाढीबाट सिर्जित विपद् प्रतिकार्यअन्तर्गत नेपाल रेडक्रस सोसाइटी नुवाकोटले युनिसेफको सहकार्यमा जिल्लाका तीन स्वास्थ्य चौकीमा प्रसूति सेवा सञ्चालनका लागि आवश्यक स्वास्थ्य उपकरण तथा सामग्री उपलब्ध गराएको छ।
रेडक्रसले विदुर नगरपालिका–२ स्थित नुवाकोट स्वास्थ्य चौकी, विदुर नगरपालिका–३ को खड्गभञ्ज्याङ स्वास्थ्य चौकी र बेलकोटगढी नगरपालिका–७ महादेवफाँटस्थित रातोमाटे स्वास्थ्य चौकीमा प्रसूति गृह सञ्चालनका लागि आवश्यक सामग्री उपलब्ध गराएको रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठले जानकारी दिए।
यसैगरी, बेलकोटगढी नगरपालिका–७ छबिसेमा डिप बोरिङ निर्माण गरी खानेपानी सञ्चालनमा ल्याइएको छ। गत भदौ १० गतेको विनाशकारी बाढीले खानेपानीका संरचनामा क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा स्वच्छ खानेपानीको सहज उपलब्धताका लागि रेडक्रसले विभिन्न स्थानमा डिप बोरिङ निर्माणको काम गरिरहेको सभापति श्रेष्ठले बताए।
बाढीबाट क्षतिग्रस्त स्वास्थ्य तथा खानेपानी संरचनाको पुनःस्थापनाले प्रभावित नागरिकलाई स्वास्थ्य सेवा र खानेपानीको पहुँचमा सहजता पुग्ने अपेक्षा गरिएको छ।

