एनपिएलले बढायो नेपालको पर्यटन चर्चा, विदेशी खेलाडी हिमाली सुन्दरतामा मोहित



काठमाडौँ,कात्तिक २१ । नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आएका विश्व क्रिकेटका चर्चित खेलाडीहरूले यहाँको प्राकृतिक सुन्दरता, हिमाली दृश्य, सांस्कृतिक विविधता र नेपाली आतिथ्यको प्रशंसा गरेका छन् । उनीहरूले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका तस्बिर तथा भिडियोले नेपालको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

अष्ट्रेलियाका डेविड वार्नरदेखि दक्षिण अफ्रिकाका डेविड मिलरसम्मका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडीको उपस्थितिले नेपाली क्रिकेटको चर्चा विश्वस्तरमा बढाएको छ । विश्वभर ठूलो सङ्ख्यामा समर्थक रहेका खेलाडीले नेपालका पर्यटकीय गन्तव्यबारे सामग्री सार्वजनिक गर्दा विदेशी पर्यटकको आकर्षण बढ्ने विश्वास गरिएको छ ।

अष्ट्रेलियाका चर्चित क्रिकेटर डेविड वार्नरले हालै हेलिकोप्टरमार्फत सगरमाथा आधार शिविर क्षेत्रको अवलोकन गर्नुभएको थियो । सगरमाथाको प्रत्यक्ष दृश्यबाट प्रभावित उहाँले सामाजिक सञ्जालमार्फत नेपालको प्राकृतिक सुन्दरताको प्रशंसा गर्नुभएको छ ।

“शब्दमा वर्णन गर्नै नसकिने अनुभव रह्यो । आफ्नै आँखाले सगरमाथा देख्न पाउनु अविश्वसनीय क्षण थियो । तस्बिर र भिडियोले यहाँको वास्तविक सुन्दरतालाई न्याय गर्न सक्दैनन्”, वार्नरले लेख्नुभएको छ ।

उहाँले नेपालीको आतिथ्य, दयालुपन र क्रिकेटप्रतिको अगाध मायाको पनि प्रशंसा गर्नुभएको छ । पहिलोपटक नेपाल आउनुभएका वार्नर एनपिएलको तेस्रो संस्करणमा काठमाडौँ गोर्खाजबाट खेलिरहनुभएको छ । दुई खेल खेलिसक्नुभएका उहाँको प्रभावशाली प्रदर्शनले प्रतियोगिताप्रति अन्तर्राष्ट्रिय क्रिकेटप्रेमीको चासो बढाएको छ ।

त्यस्तै, दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेविड मिलर पनि नेपालको प्राकृतिक सुन्दरता र क्रिकेट वातावरणबाट प्रभावित हुनुभएको छ । पहिलोपटक नेपाल आउनुभएका उहाँले यहाँका हिमाली दृश्य र वातावरणको प्रशंसा गर्दै आगामी दुईदेखि तीन साता नेपालमा बिताउन पाउँदा उत्साहित रहेको बताउनुभएको छ ।

“नेपाल साँच्चै सुन्दर ठाउँ हो । यहाँ आएपछि देखिने प्राकृतिक दृश्य र हिमालहरूले मन लोभ्याउँछन् । आगामी दुई–तीन साता नेपालमा बिताउन पाउँदा म निकै उत्साहित छु”, मिलरले नेपाल आइपुगेलगत्तै भन्नुभएको थियो ।

मिलरले नेपालको क्रिकेट विकास र समर्थकको उत्साहको पनि प्रशंसा गर्नुभएको छ । नेपाल क्रिकेटमा तीव्र गतिमा अघि बढिरहेको देश भएको उल्लेख गर्दै उहाँले नेपालीको क्रिकेटप्रतिको लगाव, जोश र ऊर्जालाई प्रशंसनीय बताउनुभएको छ ।

मिलर यस सिजनको एनपिएलमा कर्णाली याक्सबाट खेलिरहनुभएको छ । प्रतियोगिताको पहिलो खेलमै अविजित ९३ रन बनाउनुभएका उहाँको प्रदर्शनले नेपाली खेलाडी तथा दर्शकको ध्यान खिचेको छ ।

यसैगरी, बङ्गलादेशका चर्चित अलराउन्डर शाकिब अल हसनले पनि नेपालका विभिन्न स्थान र गतिविधिसम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिरहनुभएको छ । उहाँका सामग्रीले अन्तर्राष्ट्रिय क्रिकेट समर्थकमाझ नेपालबारे थप चासो सिर्जना गरेको छ ।

एनपिएलमा सहभागी विदेशी खेलाडीको गतिविधि क्रिकेट मैदानमा मात्र सीमित छैन । उनीहरूले नेपालको प्राकृतिक तथा सांस्कृतिक पक्षलाई नजिकबाट अनुभव गर्दै आफ्ना गतिविधि विश्वभरका समर्थकमाझ पुर्‍याइरहेका छन् । यसले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय पहिचान विस्तारसँगै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्