परराष्ट्रमन्त्री खनाल र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता



काठमाडौं,कात्तिक २७ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा बिहीबार तुर्किएमा आयोजित भेटवार्तामा नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सहकार्य तथा जलवायु परिवर्तनका चुनौतीका विषयमा छलफल भएको हो ।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले हालैको जलवायुजन्य भोटेकोशी बाढीपछि नेपालप्रति समवेदना र ऐक्यबद्धता व्यक्त गर्नुभएकामा महासचिव गुटेरेसप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । उहाँले बहुपक्षीयता, विश्व शान्ति, मानवीय गरिमा र दिगो विकासका लागि महासचिव गुटेरेसले पुर्‍याउनुभएको योगदानको प्रशंसासमेत गर्नुभयो ।

महासचिव गुटेरेसले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना मिसनमा सेना तथा प्रहरी पठाउने प्रमुख राष्ट्रका रूपमा नेपालले विश्व शान्ति र स्थायित्वमा पुर्‍याउँदै आएको महत्त्वपूर्ण योगदानको सराहना गर्नुभयो ।

भेटमा भोटेकोशी बाढीपछिको पुनःस्थापना तथा पुनर्निर्माण प्रयास, विश्वव्यापी शासन प्रणालीमा सुधार, बहुप्रकोप पूर्वसूचना प्रणाली, जलवायु वित्तमा वृद्धि तथा जलवायु कार्यका विषयमा दुवै पक्षबीच विचार आदानप्रदान भएको थियो ।

त्यसैगरी, क्षेत्रीय तथा विश्वव्यापी महत्त्वका विषयमा छलफल गर्दै जलवायु परिवर्तनका चुनौती सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहकार्य र बहुपक्षीय प्रयासलाई थप प्रभावकारी बनाउने विषयमा समेत कुराकानी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्