न्यायालयले समेत न्याय माग्नुपर्ने अवस्था लोकतन्त्रका लागि चिन्ताजनक : सांसद सिंह
काठमाडौं,कात्तिक २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले न्यायालयले समेत न्याय माग्नुपर्ने अवस्था सिर्जना हुनु लोकतन्त्रका लागि चिन्ताको विषय भएको बताउनुभएको छ।
बिहीबार सामाजिक सञ्जालमा लेख्दै सांसद सिंहले रास्वपा र बालेन शाह नेतृत्वको सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको हो।
उहाँले विगतका राजनीतिक घटनाक्रमबाट पाठ सिक्नुपर्ने उल्लेख गर्दै २०१५ सालमा बीपी कोइराला नेतृत्वको सरकार र २०७४ सालमा गठन भएको झन्डै दुई तिहाइ बहुमतको नेकपा सरकारको इतिहासबाट सन्देश लिनुपर्ने बताउनुभएको छ।
सांसद सिंहले कसैको उक्साहटमा देशको आन्तरिक राष्ट्रियता कमजोर बनाउने कार्य स्वीकार्य नहुनेमा जोड दिनुभएको छ।
“हाम्रो आन्तरिक राष्ट्रियता कसैको उक्साहटमा कमजोर बनाउने कार्य स्वीकार्य हुँदैन। हामी नेपालको माटो र जनतालाई सम्झेर अगाडि बढ्नुपर्छ,” उहाँले लेख्नुभएको छ।

