गाजाको नासेर अस्पतालमा इजरायली आक्रमण, ६ जनाको मृत्यु, २० घाइते
जेरुसेलम,कात्तिक २७ । दक्षिणी गाजा पट्टीस्थित नासेर अस्पतालमा बिहीबार बिहान इजरायलले गरेको आक्रमणमा कम्तीमा छ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
प्यालेस्टिनी चिकित्सा अधिकारीका अनुसार खान युनिसस्थित नासेर अस्पतालको शल्यक्रिया विभागमा भएको आक्रमणबाट ठूलो क्षति पुगेको छ। मृत्यु हुनेमा एक जना शल्य चिकित्सकसमेत रहेका गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
इजरायलले हमासका एक वरिष्ठ लडाकु तथा उक्त समूहको सशस्त्र शाखाका अन्य सदस्यलाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ।
इजरायली सेना र सुरक्षा निकाय ‘शिन बेट’ले संयुक्त विज्ञप्ति जारी गर्दै हमासले उक्त अस्पताललाई कमान्ड सेन्टर, हतियार भण्डारणस्थल र सोधपुछ केन्द्रका रूपमा प्रयोग गरेको आरोप लगाएका छन्।
गाजामा सन् २०२५ को अक्टोबरदेखि युद्धविराम लागू भए पनि पछिल्लो आक्रमण भएको हो।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२३ को अक्टोबरमा युद्ध सुरु भएयता इजरायली आक्रमणमा परी कम्तीमा ७४ हजार ६५३ प्यालेस्टिनीको मृत्यु भइसकेको छ।

