छठ पर्वमा सोमबार पनि सार्वजनिक बिदा
काठमाडौं,कात्तिक २७ । नेपाल सरकारले छठ पर्वको अवसरमा कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा आज जारी सूचनाअनुसार छठ पर्वको मुख्य दिन कात्तिक २९ गते आइतबार यसअघि नै सार्वजनिक बिदा दिइएको थियो । सरकारले व्रत समापनको दिन सोमबारसमेत सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्ने परम्परा रहेकाले सोमबार पनि बिदा दिइएको मन्त्रालयले जनाएको छ ।
सरकारको यस निर्णयसँगै छठ पर्वका अवसरमा देशभर आइतबार र सोमबार गरी दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।

